मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरीलाई १६ वर्षमै पेन्सन दिने तयारी : गृहमन्त्री लेखक

1.8K
SHARES
प्रहरीलाई १६ वर्षमै पेन्सन दिने तयारी : गृहमन्त्री लेखक

काठमाडौं । काठमाडौंमा आज (बिहीबार) आयोजित प्रथम महिला प्रहरी सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमै सेवा निवृत्ति र पेन्सन दिनेगरी कानुन निर्माण भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरी सम्बन्धी नयाँ कानुनको मस्यौदामा हाल २० वर्षमा पेन्सन पाउने व्यवस्थालाई घटाएर १६ वर्षमा ल्याइने प्रावधान गरिएको छ । कार्यालय सहयोगीदेखि हवल्दारसम्मका प्रहरीलाई आधारभूत तह मानिएको र उनीहरूलाई नयाँ कानुनले लाभ दिने उनले स्पष्ट पारे ।

लेखकका भनाइमा आधारभूत तहका प्रहरीहरूले दैनिक न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म उभिएर ड्युटी गर्ने भएकाले १६ वर्षमै उनीहरूको योगदान निजामती कर्मचारीको २३–२४ वर्षबराबर हुन्छ । त्यसैले शीघ्र पेन्सनको व्यवस्था गर्न लागिएको उनले बताए ।

गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सबै जातजाति, लिंग र भूगोल समेटेर निर्माण गरिने जानकारी दिए । महिलाको आरक्षण थपिने उल्लेख गर्दै थारु र मुस्लिम समुदायका लागि पनि क्लस्टर आरक्षणमा विस्तार गरिएको उनले बताए ।

उनले प्रहरी संगठन अब नियमावलीको आधारमा नभई ऐनद्वारा सञ्चालन हुने स्पष्ट पारे । सर्वोच्च अदालतको आदेशअनुसार प्रहरी संगठनलाई ऐनमा आधारित बनाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

प्रहरीसम्बन्धी कानुनको मस्यौदा संसद्मा प्रस्तुत भइसकेको भए पनि विभिन्न कारणले संसदीय समितिमा रोकिएको उनले जानकारी दिए । समितिको बैठक बस्न नसक्दा प्रक्रिया अघि बढ्न नसकेको तर चाँडै पारित गर्ने तयारी भइरहेको उनले बताए ।

गृहमन्त्री लेखकले गृहमन्त्री बनेपछि प्रहरी संगठनको नीतिगत तथा कानुनी सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उक्त प्रतिबद्धता पूरा गर्ने दिशामा आफू काम गरिरहेको दोहोर्याए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP