मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवाश्म इन्धनको मुद्दामा विवाद, साझा निष्कर्षबिनै सकियो कोप–३१ सम्मेलन

13
SHARES
जीवाश्म इन्धनको मुद्दामा विवाद, साझा निष्कर्षबिनै सकियो कोप–३१ सम्मेलन

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) ठोस साझा सहमतिमा पुग्न नसकी सम्पन्न भएको छ । जलवायु संकटको प्रमुख कारक मानिएको जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषय अन्तिम सम्झौतामा समावेश नभएपछि युरोपेली संघ (ईयू), बेलायतसहित विभिन्न देशले प्रस्तावित दस्तावेजप्रति असहमति जनाएका छन् ।

टर्कीको अन्ताल्यामा टर्की र अस्ट्रेलियाको संयुक्त अध्यक्षतामा आयोजित सम्मेलनको मुख्य निष्कर्षका रूपमा प्रस्तुत ‘अन्ताल्या प्याक्ट’मा जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट प्रतिबद्धता समेटिएको थिएन । यही विषयमा विवाद बढेपछि सम्मेलनको अन्तिम चरणमा सहमति जुट्न सकेन । शुक्रबार सकिने तय भएको सम्मेलन आइतबारसम्म लम्बिएको थियो । मुख्य दस्तावेज पारित हुन नसक्दा यसपटकको सम्मेलन निष्कर्षविहीन बनेको हो ।

युरोपेली संघका तर्फबाट बोल्दै आयरल्यान्डका वातावरणमन्त्री ड्याराग ओब्रियनले प्रस्तावित सम्झौताले जलवायु संकटको गम्भीरतालाई सम्बोधन गर्न नसकेको बताए । विज्ञानले देखाएका तथ्य र विश्वव्यापी प्रतिबद्धताअनुसार जीवाश्म इन्धनको विषय समेटिनुपर्ने उनको भनाइ थियो । ईयूको असन्तुष्टिमा पानामा, मार्शल आइल्यान्ड्स र नर्वेले पनि समर्थन जनाएका थिए ।

सम्मेलनमा १३० भन्दा बढी देशले जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने प्रतिबद्धता सम्झौतामा राख्न माग गरेका थिए । तर, प्रस्तावित दस्तावेजमा अर्थतन्त्रको विद्युतीकरण, जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई आर्थिक सहायता तथा विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासजस्ता विषय मात्रै समेटिएका थिए । कार्बन क्याप्चर एन्ड स्टोरेज (सीसीएस) प्रविधिसम्बन्धी प्रावधानप्रति पनि केही देशले आपत्ति जनाएका थिए ।

यद्यपि, सम्मेलनमा उच्च कार्बन उत्सर्जन गर्ने उद्योगबाट न्यून कार्बन अर्थतन्त्रतर्फ जाँदा श्रमिकको संरक्षण र सहयोग गर्ने ‘जस्ट ट्रान्जिसन’ लगायतका विषयमा निर्णय भएको छ । अफ्रिकी समूह, चीन र पाकिस्तानले सम्झौताका केही प्रावधानप्रति असन्तुष्टि जनाए पनि समग्र वार्ताबाट पछि हट्नुपर्ने धारणा राखेनन् ।

सम्मेलनका अध्यक्ष तथा टर्कीका वातावरणमन्त्री मुरात कुरुमले कुनै पनि देशमाथि सम्झौता थोपर्न नचाहेकाले सहमति नभएको दस्तावेज पारित नगरिएको स्पष्ट पारे । अस्ट्रेलियाका जलवायुमन्त्री क्रिस बोवेनले पनि विभिन्न देशका फरक–फरक अडानका कारण सहमति जुटाउन कठिन भएको बताए ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका कार्यकारी सचिव साइमन स्टिलले अपेक्षित सहमति प्राप्त नभए पनि केही महत्वपूर्ण विषयमा प्रगति भएको बताएका छन् । तर, पूर्वआयरिस राष्ट्रपति तथा पूर्वसंयुक्त राष्ट्रसंघीय जलवायु दूत मेरी रोबिन्सनले सम्मेलनमा आवश्यक नेतृत्व र तत्परता नदेखिएको भन्दै निराशा व्यक्त गरिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोमा गहिरो निराशा व्यक्त गरेका छन् । जलवायु संकटले माग गरेको गतिअनुसार सरकारहरू अघि बढ्न नसकेको उनको भनाइ छ । विश्वभर तापलहर, खडेरी, बाढी तथा अन्य चरम मौसमी घटना बढिरहेका बेला सम्मेलनले जीवाश्म इन्धनसम्बन्धी ठोस निर्णय लिन नसक्नुले जलवायु संरक्षणको अन्तर्राष्ट्रिय प्रयासमाथि प्रश्न उठाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ८, सोमबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP