मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संशोधनका नाममा संविधानको मूल भावना र आत्मामाथि प्रहार गर्न हुँदैन: आङ्देम्बे

234
SHARES
संशोधनका नाममा संविधानको मूल भावना र आत्मामाथि प्रहार गर्न हुँदैन: आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानको मर्ममाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन् ।

संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधान संशोधनका नाममा यसको आधारभूत मूल्य–मान्यतामाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने बताएका हुन् । उनले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन् ।

आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थसँग जोड्न नहुने धारणा राख्दै बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ कार्यदल गठन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।

संविधान संशोधन कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य–मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै विभिन्न राजनीतिक दलले असहमति जनाएका थिए । कार्यदलले भने विज्ञ, राजनीतिक दल, संघसंस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ ।

संविधान कार्यान्वयनको अवस्था पनि गम्भीर रहेको उल्लेख गर्दै आङ्देम्बेले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । संवैधानिक संस्थाको गरिमा कायम राख्दै संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।

आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने भए पनि संशोधनका नाममा संविधानको मूल भावना र आत्मामाथि प्रहार गर्न नहुने उनको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ३, शनिबार ०६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP