मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकामा बर्डफ्लु फैलिँदै, पाँच लाखभन्दा बढी पन्छी नष्ट

494
SHARES
उपत्यकामा बर्डफ्लु फैलिँदै, पाँच लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्डफ्लु (H5H1) संक्रमण तीव्र रूपमा फैलिएको छ । पछिल्लो तीन महिनामा ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको भन्दै पशुसेवा विभागले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

विभागका अनुसार विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएको थियो । त्यसयता झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म संक्रमण फैलिएको हो ।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए । त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४.८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले बताए ।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ गठन गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्राविधिक टोली परिचालन गरेको जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, सुनसरी तथा बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा अझै संक्रमण देखिएकाले निगरानी र नियन्त्रणका उपाय थप कडाइका साथ लागू गरिएको छ ।

संक्रमित भाइरसमा आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण (जिनोम सिक्वेन्सिङ) प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ ।

विभागले किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ । पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्ममा प्रवेश गराउन तथा जङ्गली र घरपालुवा पन्छीबीचको सम्पर्क रोक्न पनि विभागले अनुरोध गरेको छ ।

यस्तै, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन र कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले सबै पन्छीपालकलाई अपिल गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १३, शनिबार ०९:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP