मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रकृति संरक्षणमा योगदानको कदर, नेपाली सेना विश्व वन्यजन्तु कोषबाट सम्मानित

676
SHARES
प्रकृति संरक्षणमा योगदानको कदर, नेपाली सेना विश्व वन्यजन्तु कोषबाट सम्मानित

काठमाडौं । प्रकृति तथा पर्यावरण संरक्षणमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको सम्मानस्वरूप नेपाली सेना विश्व वन्यजन्तु कोष नेपालबाट विशेष रूपमा सम्मानित भएको छ ।

विश्व वन्यजन्तु कोष नेपालको ३३औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सेनालाई उक्त सम्मान प्रदान गरिएको हो । नेपाली सेनाका अनुसार करिब पाँच दशकदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।

यसअघि पनि शून्य सिकार वर्ष मनाउन सफल भएका कारण सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ मा सेनाका विभिन्न छ युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’बाट सम्मानित भइसकेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले समेत यसअघि ‘डबल टाइगर अवार्ड’ प्राप्त गरिसकेको छ ।

नेपाली सेना विसं २०३२ सालदेखि राष्ट्रिय निकुञ्ज सुरक्षामा औपचारिक रूपमा परिचालित हुँदै आएको छ । हाल सेना १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा खटिएको छ । यसका लागि आठ गण, सात अनाश्रित गुल्म तथा एक प्रकृति संरक्षण शिक्षालय परिचालनमा रहेका छन् ।

सेनाले जनाएअनुसार संरक्षण अभियानकै सकारात्मक प्रभावस्वरूप सन् २००९ मा १२१ रहेको पाटे बाघको संख्या बढेर हाल ३५५ पुगेको छ भने सन् २००५ मा ४०० रहेको एकसिङ्गे गैँडाको संख्या बढेर ७५२ पुगेको छ ।

कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र चुनौतीपूर्ण परिस्थितिका बीच पनि नेपाली सेनाले संरक्षणको जिम्मेवारी प्रभावकारी रूपमा निभाउँदै आएको जनाएको छ । यस क्रममा हालसम्म ११६ जना सैनिकले ज्यान गुमाइसकेको सेनाले उल्लेख गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP