मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशलाई गर्व गराउनेछौँ : कप्तान रोहित

1.4K
SHARES
देशलाई गर्व गराउनेछौँ : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी–२० विश्वकपका लागि टोलीको तयारी सन्तोषजनक रहेको बताएका छन् । भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म संयुक्त रूपमा आयोजना हुने विश्वकपअघि नेपाली टोली आइतबार श्रीलंका प्रस्थान गर्दैछ ।

श्रीलंकामा नेपालले श्रीलंका ‘ए’ टोलीसँग तीनवटा टी–२० अभ्यास खेल खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार श्रीलंका क्रिकेटले प्रतिस्पर्धी र बलियो ‘ए’ टोली उपलब्ध गराउने आश्वासन दिएको छ । विश्वकपअघि नेपालले भारत र श्रीलंकामा गरेर करिब १२ दिनको तयारी गर्ने कार्यक्रम छ ।

कप्तान रोहितले यो तयारी पर्याप्त र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यसपटकको विश्वकपमा नेपाली टोलीले देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने दाबी गरे । नेपाल प्रिमियर लिग (एनपिएल) पछि छोटो विश्राम लिए पनि तयारीको लय राम्रो रहेको उनको भनाइ छ । तेस्रोपटक टी–२० विश्वकप खेल्न पाउँदा टोली उत्साहित रहेको उनले बताए ।

पछिल्लो विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुँदा पिच ब्याटिङका लागि कठिन रहेकाले रन बनाउन चुनौतीपूर्ण भएको स्मरण गर्दै रोहितले यसपटक वाङ्खडे जस्तो ‘हाइ स्कोरिङ’ पिचमा खेल्न पाइने भएकाले ब्याटरलाई सहज हुने बताए । त्यहीअनुसार ब्याटर र बलर दुवैको तयारी भइरहेको उनको भनाइ छ । नेपाली टोलीले विश्वकपका सबै खेल वाङ्खडे स्टेडियममै खेल्ने तालिका छ । यसअघि वाङ्खडेबाट करिब एक किलोमिटर टाढा रहेको बारबोर्न क्रिकेट स्टेडियम (क्रिकेट क्लब अफ इन्डिया) मा दुई अभ्यास खेल खेल्नेछ, जसले कन्डिसन बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलंकामा हुने अभ्यासले टोलीलाई पूर्ण रूपमा विश्वकप–केन्द्रित बनाउने बताए । विश्वकपमा सहभागिता खेलाडी मात्र होइन, प्रशिक्षक र व्यवस्थापनका लागि पनि गर्वको क्षण भएको उल्लेख गर्दै उनले नेपालले स्मरणीय विश्वकप खेल्ने आशा व्यक्त गरे । पछिल्ला तीन हप्तादेखि विशेष तयारी भइरहेको पनि उनले जानकारी दिए ।

शनिबार क्यानले एक कार्यक्रम आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको थियो । उक्त अवसरमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले टोलीलाई शुभकामना दिए । डा. शर्माले वेस्ट इन्डिजसँगको टी–२० श्रृंखला जितेकोमा पूर्वघोषित २० लाख रुपैयाँ पुरस्कार प्रदान गर्दै विश्वकपमा सुपर आठमा पुगे थप २० लाख रुपैयाँ दिने घोषणा गरे ।

डा. शर्माले राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी तथा परिवारलाई निःशुल्क उपचार सेवा दिँदै आएको उल्लेख गर्दै सम्झौता अवधि सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । साथै, खेल जीवनपछि खेलाडीलाई पेन्सनको व्यवस्था गर्न नेपाल सरकारसमक्ष माग पनि राखे ।

क्यान अध्यक्ष चन्दले टेस्ट राष्ट्रसँग नियमित खेल नपाए पनि निरन्तर अन्तर्राष्ट्रिय व्यस्तताले टोलीको तयारी बलियो बनेको बताए । टोली सन्तुलित रहेको उल्लेख गर्दै उनले नेपाल सुपर आठमा पुग्ने विश्वास व्यक्त गरे ।

क्यान सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटप्रति देश र विश्व क्रिकेट समुदायको ध्यान केन्द्रित रहेको बताए । खेल मैदानभित्र मात्र होइन, बाहिरका गतिविधिले पनि प्रभाव पार्ने भएकाले खेलाडीलाई अनुशासित रहन सुझाव दिए । विश्वकपपछि टेस्ट राष्ट्रसँग श्रृंखला खेल्ने विषयमा प्रक्रिया अघि बढिरहेको जानकारी पनि उनले दिए ।

पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । दोस्रो विश्वकप खेल्न १० वर्ष लागेको नेपालले यसपटक भने लगातार तेस्रो विश्वकप खेल्दैछ । यस विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेश रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ३, शनिबार ०८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP