मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व बक्सिङमा नेपालका लागि ऐतिहासिक उपलब्धि

1.5K
SHARES
विश्व बक्सिङमा नेपालका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं । युएईमा सम्पन्न आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जित्ने नेपाली मुक्केबाज चन्द्रबहादुर थापासहितको टोली आइतबार काठमाडौं आइपुगेको छ । विश्वस्तरको बक्सिङ प्रतियोगितामा पदक जित्ने चन्द्र एक्लो नेपाली खेलाडी हुन्, जसले नेपाली खेल इतिहासमा नयाँ अध्याय थपेका छन् ।

५४ केजी तौल समूहमा कांस्य पदक
डिसेम्बर ३ देखि १४ तारिखसम्म सञ्चालन भएको प्रतियोगिताको ५४ केजी तौल समूहमा चन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक सुनिश्चित गरेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उनले इन्डोनेसिया, अर्मेनिया र इरानका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका हुन् ।

सेमिफाइनलमा भने चन्द्र कजाखस्तानका अनुभवी मुक्केबाज विबोसिनोभ साकिनसँग पराजित भए । कांस्य पदकसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि प्राप्त गरेका छन् ।

अन्य नेपाली खेलाडीको प्रदर्शन
च्याम्पियनसिपमा नेपालबाट चन्द्रसहित पाँच खेलाडी सहभागी थिए । लालप्रसाद उप्रेती (४८ केजी), फुङलाङ काम्वाङ (५१ केजी), खगेन्द्र रोका मगर (६० केजी) र दीपक श्रेष्ठ (८० केजी) ले प्रतिस्पर्धा गरेका थिए ।

लालप्रसाद उप्रेतीले क्वाटरफाइनलसम्म पुग्दै १० हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भए । बाँकी खेलाडीहरू भने पहिलो चरणबाटै बाहिरिए ।

प्रशिक्षक टोलीको भूमिका
टोलीको प्रशिक्षण जिम्मेवारी प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुन मगरले सम्हालेका थिए । विशेषगरी मुख्य प्रशिक्षक प्रकाश थापा मगरको योगदान यस सफलतासँग गहिरो रूपमा जोडिएको छ ।

प्रकाश थापा मगरः खेलाडी र प्रशिक्षक दुवैमा सफल
चन्द्रको यो ऐतिहासिक उपलब्धिले नेपाली खेल क्षेत्रमा प्रशिक्षक प्रकाश थापा मगरको महत्वलाई अझ उजागर गरेको छ । खेलाडी र प्रशिक्षक दुवै रूपमा आफूलाई स्थापित गरिसकेका प्रकाश, आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन् ।

उनकै मुख्य प्रशिक्षणमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुदमा ३ स्वर्ण, ६ रजत र ६ कांस्य पदक जितेको थियो । चन्द्रको विश्वस्तरीय सफलता पनि प्रकाशकै प्रशिक्षण अवधिमा सम्भव भएको हो ।

नेपाली खेल क्षेत्रमा नयाँ प्रेरणा
खेलाडी र प्रशिक्षक दुवै रूपमा निरन्तर सफलता हासिल गरेका प्रकाश थापा मगर नेपाली खेल क्षेत्रमा दुर्लभ उदाहरण बनेका छन् । चन्द्रबहादुर थापाको कांस्य पदकले नेपाली बक्सिङ मात्र होइन, समग्र खेल क्षेत्रका लागि नयाँ प्रेरणा र सम्भावनाको ढोका खोलेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १३, आईतवार ११:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP