मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल दोस्रो संस्करणको तयारी पूरा, पुरस्कार राशि पहिलो संस्करणकै यथावत

2.5K
SHARES
एनपीएल दोस्रो संस्करणको तयारी पूरा, पुरस्कार राशि पहिलो संस्करणकै यथावत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आज (शनिबार) आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले मंसिर १ गतेदेखि सुरु हुने एनपीएल–२ को तयारी पुरा भएको जानकारी गराइयो ।

क्यानका सचिव पारस खड्काका अनुसार यसपटक पहिलोपटक एनपीएलका खेलहरू फ्लडलाइटमुनि सञ्चालन हुन लागेको छ । डे–नाइट खेलहरूको उद्देश्य प्रतियोगितालाई अझ आकर्षक र अन्तर्राष्ट्रिय स्तरको बनाउन रहेको उनले बताए ।

पुरस्कार राशि यथावत
दोस्रो संस्करणमा पनि पुरस्कार राशि पहिलो संस्करणकै कायम रहने क्यान सचिव खड्काले जानकारी दिएका छन् ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्सले विजेता बन्दै १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो स्थान हासिल गर्ने कर्णाली याक्सले २५ लाख तथा चौथो हुने चितवन राइनोजले १५ लाख पुरस्कार प्राप्त गरेका थिए ।

यही संरचना यसपटक पनि कायम रहने क्यानले स्पष्ट पारेको छ ।

आयव्यय विस्तृत रूपमा सार्वजनिक
पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले आयस्रोतबारे विस्तृत जानकारी दिए । उनका अनुसार यसपटक एनपीएलमा १५ देखि ३० करोड रुपैयाँसम्म प्रायोजनबाट प्राप्त हुने अनुमान छ ।

उनले बताए अनुसार टिम ओनरसिपबाट ९ करोड प्राप्त हुनेछ । यस्तै, डिसहोम गो ले ५ करोड ३० लाख रकममा ओटीटी प्रसारण अधिकार खरिद गरेको छ भने विश्वभरबाट उठ्ने रकममध्ये ७१ प्रतिशत क्यानलाई र २९ प्रतिशत डिसहोमलाई जाने व्यवस्था मिलाइएको खड्काले बताए ।

त्यस्तै, लिनियर टिभी प्रसारण अधिकारको न्युनतम मूल्य १ करोड तोकिएको र यसभन्दा बढी रकम आउने अपेक्षा रहेको क्यानले जनाएको छ । क्यानका अनुसार टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

व्यक्तिगत पुरस्कारमा परिवर्तन सम्भावना
सचिव पारस खड्काले उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उदयीमान खेलाडीजस्ता व्यक्तिगत पुरस्कारमा भने केही परिवर्तन वा वृद्धि हुन सक्ने संकेत गरेका छन् । तीबारे औपचारिक घोषणा पछि गर्ने योजना छ ।

एनपीएल–२ मार्फत नेपाली क्रिकेटप्रेमीमा उत्साह थप बढ्ने र घरेलु क्रिकेटको स्तर अझ उकासिने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २९, शनिबार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP