मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजिदेम्बामा आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, फुलमती मावि पुनः प्रथम

2K
SHARES
खिजिदेम्बामा आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, फुलमती मावि पुनः प्रथम

काठमान्डु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङशिल्ड अन्तर–माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’मा फुलमती माध्यमिक विद्यालय, खिजिफलाटेले पुनः उपाधि हात पारेको छ । लगातार तेस्रो वर्ष प्रथम हुँदै फुलमती माविले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै समग्र रनिङशिल्ड आफ्नो नाममा कायम राख्न सफल भएको हो ।

प्रतियोगितामा फुलमती माविले १० स्वर्ण, ७ रजत र २ कास्य गरी कुल १९ पदक जित्दै अग्रस्थानमा रह्यो । समान १९ पदक हात पारेको चण्डेश्वरी मावि, रगनी कम स्वर्णका कारण दोस्रो स्थानमा रह्यो । उसले ७ स्वर्ण, ७ रजत र ५ कास्य जितेको थियो । तेस्रो स्थान कुण्डली मावि कातिसञ्जोरले ५ स्वर्ण, ५ रजत र ६ कास्यसहित १६ पदक जितेर तेस्रो स्थान सुरक्षित गर्यो ।

आयोजक हिमगंगा मावि रावादोलु पनि प्रतिस्पर्धामा बलियो उपस्थित भयो । ४ स्वर्ण, ७ रजत र ७ कास्य सहित १८ पदक जिते पनि स्वर्ण कम भएकै कारण हिमगंगा चौथो स्थानमा सीमित भयो ।

त्यस्तै, चण्डेश्वरी मावि माझगाउँले १ स्वर्ण, २ रजत र ३ कास्यसहित पाँचौँ स्थान ओगट्यो । नर्मदेश्वर मावि चप्लेटीले १ स्वर्ण र ५ कास्यसहित ६ पदक जितेर छैटौँ स्थानमा रह्यो भने शिवालय मावि छेर्मादिङ पात्लेले यसपटक कुनै पदक प्राप्त गर्न सकेन ।

समापन समारोहमामा प्रमुख अतिथि तथा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पाले आगामी वर्ष राष्ट्रपति रनिङशिल्ड जिल्लास्तरीय प्रतियोगिता खिजिदेम्बामै आयोजना गर्ने प्रतिबद्धता जनाए । उनले यस वर्ष सम्पूर्ण खेल विधा उपलब्ध नभएकाले प्रतियोगिता बाहिरै गर्न परे पनि आगामी वर्ष सबै इभेन्ट समावेश गरेर जिल्लामै उत्कृष्ट आयोजनाको तयारी गरिने बताए ।

प्रतियोगितामा हिमगंगा मावि रावादोलुका लिला सुनुवार र फुलमती माविका खेमकुमारी सुनुवार (सुन्दीरा) उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूको प्रदर्शनले विद्यालयहरूबीचको प्रतिस्पर्धा मात्र उठाइदिएन, गाउँपालिकाभित्रको खेलाडी क्षमताको स्तर पनि प्रस्टै देखाएको छ ।

खिजिदेम्बा गाउँपालिकाको प्रायोजन तथा हिमगंगा मावि रावादोलुको आयोजनामा मंसिर ४ देखि ६ गतेसम्म ५ नं.स्थित बोजेटार खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको थियो । तीन दिन अवधिभर विभिन्न ट्रयाक तथा फिल्ड इभेन्टमा सहभागी विद्यार्थीहरूको उत्साह, स्थानीय बासिन्दाको उपस्थिति र विद्यालयहरूको प्रतिस्पर्धाले खेलकुद क्षेत्रप्रतिको आकर्षण अझ प्रस्ट बनाएको आयोजकले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ७, आईतवार ०५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP