मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप फाइनलअघि मेस्सीको क्रेज: विश्व खेलकुदका दिग्गजसँग एउटै मञ्चमा

468
SHARES
विश्वकप फाइनलअघि मेस्सीको क्रेज: विश्व खेलकुदका दिग्गजसँग एउटै मञ्चमा

काठमाडौं । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको लोकप्रियता फेरि एकपटक विश्वसामु उजागर भएको छ । अमेरिकामा आयोजित ‘फ्यानाटिक्स फेस्ट’ कार्यक्रममा विभिन्न खेलका विश्वप्रसिद्ध खेलाडीहरू मेस्सीसँग एउटै मञ्चमा उभिँदै उनीप्रति सम्मान व्यक्त गरेका हुन् ।

कार्यक्रममा अमेरिकी फुटबलका महान खेलाडी टम ब्राडी, टेनिसका कीर्तिमानी नोभाक जोकोभिच र एनबीएका स्टार केभिन डुरान्ट सहभागी थिए । कार्यक्रमको अन्त्यमा उनीहरूले मेस्सीसँग सामूहिक सेल्फी खिचाउँदै विश्व फुटबलका कप्तानप्रतिको सम्मान सार्वजनिक गरेका थिए ।

आइतबार हुने अर्जेन्टिना–स्पेन विश्वकप फाइनलअघि आयोजित कार्यक्रममा मेस्सीले छोटो प्रतिक्रिया दिँदै टोलीले उपाधिका लागि सम्पूर्ण शक्ति लगाउने बताए । उनले टोलीको संघर्षलाई स्मरण गर्दै अर्जेन्टिनाले कहिल्यै हार नमान्ने मानसिकताका साथ खेल्ने उल्लेख गरे ।

यसपटक फिफाले परम्परागत पत्रकार सम्मेलनको सट्टा न्यूयोर्कमा आयोजित चारदिने ‘फ्यानाटिक्स फेस्ट’लाई विश्वकप फाइनलको पूर्वकार्यक्रमका रूपमा प्रयोग गरेको थियो । कार्यक्रममा सयौँ समर्थकले मेस्सीलाई प्रत्यक्ष भेट्ने र नजिकबाट हेर्ने अवसर पाए ।

स्पेनका कप्तान रोड्रीले पनि मेस्सीको खुलेर प्रशंसा गर्दै उनलाई सर्वकालीन महान फुटबलरको संज्ञा दिए । उनका अनुसार अर्जेन्टिनाका लागि मेस्सीको योगदान अतुलनीय छ र उनी खेल इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

कार्यक्रमको अर्को विशेषता भने पत्रकारको स्थानमा विश्वप्रसिद्ध खेलाडीहरूले नै प्रश्न सोध्नु थियो । टम ब्राडीले लामिन यामाल बाल्यकालमा मेस्सीसँग जोडिएको चर्चित तस्वीरबारे जिज्ञासा राख्दा मेस्सी मुस्कुराउँदै त्यसलाई अनौठो सम्झना भएको प्रतिक्रिया दिए ।

त्यस्तै, नोभाक जोकोभिचले अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी र मेस्सीसँग दबाब व्यवस्थापनबारे प्रश्न गरेका थिए भने केभिन डुरान्टले गोलरक्षक एमिलियानो मार्टिनेजसँग लगातार दोस्रो विश्वकप जित्न सकिए त्यसको महत्वबारे सोधेका थिए ।

फाइनलअघि प्रशिक्षक स्कालोनीले टोलीलाई सामान्य मानसिकताका साथ मैदानमा उत्रने सन्देश दिएका छन् । उनका अनुसार विश्वकप फाइनल भए पनि खेलाडीहरूले अतिरिक्त दबाब नलिई आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले यस संस्करणमा कठिन चुनौती पार गर्दै फाइनल यात्रा तय गरेको छ । टोलीले नकआउट चरणका विभिन्न खेलमा पुनरागमन जित निकाल्दै लगातार दोस्रोपटक विश्वकप उपाधि नजिक पुगेको हो ।

कार्यक्रमको अन्त्यमा मेस्सी, खेलाडी, प्रशिक्षक, अभिनेता केभिन हार्ट, र्‍यापर ट्राभिस स्कट, पूर्वइङ्ल्यान्ड फुटबलर रियो फर्डिनान्ड तथा फ्यानाटिक्सका प्रमुख कार्यकारी अधिकृत माइकल रुबिनसहित सबैले समर्थकहरूलाई पृष्ठभूमिमा राखेर सामूहिक सेल्फी खिचाएका थिए ।

कार्यक्रमबाट बाहिरिने क्रममा मेस्सीले केहीबेर विश्वकप ट्रफीतर्फ नजर लगाएको दृश्यले पनि समर्थकको ध्यान तानेको थियो । यदि अर्जेन्टिनाले उपाधि जितेमा टोलीले ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने इतिहास दोहोर्याउनेछ भने मेस्सीले आफ्नो गौरवपूर्ण करियरमा अर्को अविस्मरणीय उपलब्धि थप्नेछन् ।

गोलरक्षक एमिलियानो मार्टिनेजले पनि सम्पूर्ण टोली देशलाई पुनः विश्वकप उपहार दिन प्रतिबद्ध रहेको बताउँदै समर्थकको खुसीका लागि आफ्नो शतप्रतिशत दिने प्रतिबद्धता व्यक्त गरेका छन् । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २, शनिबार ०५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP