मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईसीसी लिग डिभिजन- २ मा नेपालको निराशाजनक समापन, यूएईसँग फेरी पराजित

2.7K
SHARES
आईसीसी लिग डिभिजन- २ मा नेपालको निराशाजनक समापन, यूएईसँग फेरी पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी लिग डिभिजन- २ अन्तर्गतको यूएई भ्रमण निराशाजनक रूपमा समाप्त गरेको छ । बुधबार सम्पन्न अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४ विकेटले पराजित हुँदै लगातार चौथो हारको सामना गर्न बाध्य भयो ।

त्रिकोणात्मक सिरिजमा अमेरिका पनि सहभागी थियो । नेपाल यसअघि यूएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो भने, अमेरिकासँगका दुवै खेलमा क्रमशः १०६ रन र ४ विकेटले हार बेहोरेको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर यूएईले पहिले फिल्डिङ रोजेको थियो । नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको लक्ष्य प्रस्तुत गर्‍यो ।

नेपालका भीम सार्कीले ४८ रन बनाए भने, कुशल मल्लले ४६ रन, दीपेन्द्रसिंह ऐरीले ३७ रन, र आसिफ शेखले ३४ रनको योगदान दिए । कप्तान रोहित पौडेल २ रनमै आउट भए, तर उनले यस खेलमा आफ्ना २ हजार अन्तर्राष्ट्रिय रन पूरा गरेका छन् ।

यूएईका बलरमध्ये ध्रुव परासर, जुनैद सिद्दिकी र मुहम्मद जवाद उल्लाहले समान २–२ विकेट लिएका थिए ।

नेपालले दिएको २४० रनको लक्ष्य यूएईले ४९ ओभर र १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । यूएईका लागि मुहम्मद शाहदादले ९६ रन (१२३ बल, ६ चौका, ३ छक्का) को उत्कृष्ट इनिङ खेले । उनलाई मुहम्मद वासिमले ७६ रन बनाएर सघाए । सोहेब खान (२९) र हर्षित कौशीक (१३) ले पनि सन्तुलित योगदान गरे ।

नेपालका बलरमध्ये करण केसीले ३ विकेट लिए भने, सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादवले एक–एक विकेट हात पारे । सन्दीपले आफ्नो १० ओभरमा २ मेडनसहित ३५ रन मात्र खर्चेका थिए ।

सिरिजमा चारै खेल गुमाएको नेपाल यसपटक अंकविहीन रह्यो । टोलीले ब्याटिङ र फिल्डिङ दुवै विभागमा अस्थिरता झेलिरहेको देखियो । अब नेपालले आगामी चरणमा सुधारका लागि संयोजन र रणनीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १९, बुधबार १४:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP