मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेद्वारा ‘अपानी–२’ जारी, केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

650
SHARES
एमालेद्वारा ‘अपानी–२’ जारी, केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित ‘अन्तर पार्टी निर्देशन–२ (अपानी–२)’ सार्वजनिक गरेको छ । शुक्रबार जारी गरिएको ४६ पृष्ठ लामो दस्तावेजमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा, संगठन विस्तारका योजना तथा केन्द्रीय नेताहरूको कार्यविभाजन समेटिएको छ ।

दस्तावेजमा पार्टीका २९९ जना केन्द्रीय सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै पालिका तहसम्म संगठनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ नेताहरूलाई विभिन्न भूगोल र विभागको जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।

एमालेले संगठन सुदृढीकरणका लागि ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णय पनि अपानीमार्फत सार्वजनिक गरेको छ । पार्टीका नीति, कार्यक्रम र उपलब्धिलाई जनस्तरसम्म पुर्‍याउने तथा कार्यकर्तालाई थप सक्रिय बनाउने उद्देश्यले अभियान अघि बढाइने उल्लेख गरिएको छ ।

दस्तावेजमा पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गरिएको छ । साथै अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र त्यसपछिको रिहाइसँग सम्बन्धित विषयलाई पनि समेटिएको छ । सचिवालय बैठकबाट भएका विभिन्न निर्णयहरूलाई समेत अपानीमा समावेश गरिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाउने एमालेको रणनीति दस्तावेजमा झल्किएको छ । पार्टी नेतृत्वले निर्वाचन केन्द्रित गतिविधि, जनपरिचालन तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर कार्ययोजना तय गरेको जनाएको छ ।

अपानीअनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी गतिविधिको नेतृत्व गर्नेछन् । उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय तथा अनुगमनको जिम्मेवारी दिइएको छ भने महासचिव शंकर पोखरेललाई संगठनात्मक कामको समन्वय, निर्देशन तथा केन्द्रीय कार्यालय सञ्चालनको प्रमुख जिम्मेवारी तोकिएको छ ।

एमालेले जारी गरेको नयाँ निर्देशनलाई आगामी राजनीतिक रणनीति, संगठन विस्तार र निर्वाचन तयारीको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ । पार्टीभित्र जिम्मेवारी बाँडफाँटलाई स्पष्ट बनाउँदै संगठनलाई थप गतिशील बनाउने उद्देश्यले अपानी जारी गरिएको नेताहरूले बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १६, शनिबार ०१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP