मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगातार दोस्रो पटक काभा च्याम्पियन बन्यो इरान, नेपाल पदकविहीन

1.5K
SHARES
लगातार दोस्रो पटक काभा च्याम्पियन बन्यो इरान, नेपाल पदकविहीन

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले लगातार दोस्रो पटक जितेको छ । शुक्रबार भएको फाइनलमा इरानले काजखस्तानलाई ३–१ सेटले पराजित गर्दै आफ्नो दबदबा कायम राख्यो ।

इरानले पहिलो सेट २५–१८ ले जितेर उत्कृष्ट सुरुआत गरेको थियो । दोस्रो सेटमा काजखस्तानले २५–१९ को जित निकाल्दै खेल बराबरीमा ल्यायो । तर त्यसपछि इरानले पुनः लय समात्दै तेस्रो सेट २५–१५ र चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।

यसअघि इरानले सन् २०२५ मा उज्वेकिस्तानमा आयोजित दोस्रो संस्करणको उपाधि पनि जितेको थियो । काठमाडौंमा सन् २०२४ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो बनेको इरानले त्यसयता लगातार दुई संस्करण अपराजित रहँदै उपाधि उचालेको हो ।

यस संस्करणमा इरानले खेलेका पाँचै खेल जित्यो । प्रतियोगिताभर १५ सेट जितेको इरानले केवल फाइनलमा मात्र एक सेट गुमाएको थियो । काजखस्तानलाई उसले समूह चरणमै पनि सोझो सेटमा हराएको थियो ।

सेमिफाइनलमा इरानले घरेलु टोली नेपाललाई ३–० ले पराजित गरेको थियो भने काजखस्तानले भारतलाई समान सेटमा हराएर फाइनल यात्रा तय गरेको थियो ।

फाइनलमा समूह चरणको हारको बदला लिने लक्ष्यसहित उत्रिएको काजखस्तान इरानको संगठित खेल अगाडि टिक्न सकेन । एफआईभिबी विश्व वरीयतामा समावेश प्रतियोगिता भएकाले उपाधिसँगै इरानले वरीयतामा पनि लाभ पाउने भएको छ ।

इरान र काजखस्तान दुबै टोली आगामी एभिसी कपको तयारीमा रहेकाले काभा च्याम्पियनसिप उनीहरूका लागि महत्वपूर्ण अभ्यास प्रतियोगिता बनेको थियो । जुन ६ देखि १४ सम्म फिलिपिन्सको कान्डोनमा हुने एभिसी कपमा यी दुई टोली समूह ‘बी’ मा छन् । उक्त समूहमा भियतनाम, इन्डोनेसिया, हङकङ र लेवनान पनि रहेका छन् ।

समूह ‘ए’मा आयोजक फिलिपिन्ससँगै चाइनिज ताइपेई, दक्षिण कोरिया, किर्गिस्तान, अस्ट्रेलिया र उज्वेकिस्तान छन् ।

भारतसँग हार्दै नेपाल चौथो
घरेलु समर्थकमाझ उपाधिको लक्ष्य राखेको नेपाल भने यसपटक पदकविहीन रह्यो । तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ सेटले पराजित भयो ।

भारतले नेपाललाई २५–२२, २५–२३, १५–२५ र २५–२२ ले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो भने नेपाल चौथो स्थानमा सीमित बन्यो ।

प्रतियोगितापछि नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले नयाँ खेलाडी समेटिएको नेपाली टोलीका लागि अनुभवी टोलीविरुद्ध खेल्नु ठूलो सिकाइको अवसर भएको प्रतिक्रिया दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १५, शुक्रबार १३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP