मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आन्तरिक विवाद र सत्ता स्वार्थले पतन भयो नाउपा

910
SHARES
आन्तरिक विवाद र सत्ता स्वार्थले पतन भयो नाउपा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) २०७९ को निर्वाचनपछि सम्भावनायुक्त नयाँ शक्तिका रूपमा देखिएको थियो । तर फागुन २१ मा सम्पन्न पछिल्लो निर्वाचनमा भने पार्टीले एक पनि सिट जित्न नसक्दा राजनीतिक रूपमा ठूलो झट्का व्यहोर्नुपरेको छ ।

चार वर्षअघि उदाएको यो दलले पहिलो निर्वाचनमै उल्लेखनीय सफलता हासिल गरेको थियो । तर त्यही समयमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले राष्ट्रिय राजनीतिमा प्रमुख शक्तिका रूपमा स्थापित हुँदा नाउपा भने कमजोर बन्दै गएको देखिन्छ ।

नाउपाको नेतृत्व रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको मतभेदका कारण पार्टी लगातार विवाद र विभाजनको चपेटामा पर्दै आएको विश्लेषण गरिन्छ । उही समयमा गठन भएको जनमत पार्टी पनि अपेक्षाअनुसार प्रभाव कायम राख्न नसकेको अवस्था छ ।

२०७९ को निर्वाचनमा नाउपाले सुदूरपश्चिम प्रदेश, विशेषगरी कैलाली क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको थियो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ कैलाली–१, कैलाली–२ र कैलाली–३ गरी तीन सिट जित्दै पार्टीले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको थियो । प्रदेशसभामा सुदूरपश्चिममा सात सिट जित्दै सरकार गठनमा ‘निर्णायक शक्ति’ बन्न सफल भएको थियो । लुम्बिनी र मधेश प्रदेशमा पनि पार्टीको उपस्थिति देखिएको थियो ।

थारू समुदायको भावनासँग जोडिएको मुद्दा र टीकापुर घटनाका बन्दीहरूको रिहाइलाई मुख्य एजेन्डा बनाएर नाउपाले स्थापित दलहरूलाई चुनौती दिएको थियो । तर पार्टीभित्र नेतृत्व र सत्ता समीकरणलाई लिएर उत्पन्न विवादले संगठन कमजोर बनाउँदै लग्यो । रेशम चौधरी स्वतन्त्र राजनीतिक धार कायम राख्ने पक्षमा देखिँदा रञ्जिता श्रेष्ठ भने सत्ताको समीकरणसँग नजिक रहने रणनीतिमा उभिएकी थिइन् ।

निर्वाचन आयोग नेपालले रेशम चौधरीलाई पार्टी अध्यक्षका रूपमा मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै आधिकारिक अध्यक्ष रहिन् । यसले रेशमलाई प्रभावशाली नेताका रूपमा रहन दिँदा पनि औपचारिक नेतृत्व भने रञ्जिताकै हातमा रहने अवस्था सिर्जना भयो । यही अवस्थाले पार्टीभित्र शक्ति संघर्ष चर्किएको बताइन्छ ।

सुदूरपश्चिमका आफ्नै सांसदहरूमाथि कारबाही गर्ने र त्यसको प्रतिरोध गर्ने क्रमले कार्यकर्ता तहसम्म निराशा फैलिएको थियो ।

२०७९ को निर्वाचनमा कैलाली–१ बाट रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मतसहित निर्वाचित भएकी थिइन् । त्यस्तै कैलाली–२ बाट अरुणकुमार चौधरी, कैलाली–३ बाट गंगाराम चौधरी र बर्दिया–२ बाट लालवीर चौधरी विजयी भएका थिए ।

तर यसपटकको निर्वाचनमा नाउपाले प्रत्यक्षतर्फ एक पनि सिट जित्न सकेन । अघिल्लो निर्वाचनमा जितेका कैलालीका तीनै क्षेत्र र बर्दियामा पार्टीका उम्मेदवारहरू तेस्रो वा चौथो स्थानमा झरे ।

नाउपाको प्रभाव क्षेत्र मानिने कैलाली र बर्दियामा यसपटक रास्वपा लगायतका ठूला दलहरूले मतदाताको समर्थन तान्दा नाउपा कमजोर बनेको विश्लेषण गरिन्छ । विश्लेषकहरूका अनुसार पार्टीभित्रको नेतृत्व विवाद, सत्ता समीकरणप्रतिको फरक दृष्टिकोण र लगातारको आन्तरिक संघर्ष नै नाउपाको पतनका मुख्य कारण बनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २९, शुक्रबार ११:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP