मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशमा रहेका नेपालीको सम्भावित उद्धारका लागि सरकारको तयारी, परराष्ट्र मन्त्रालयमा ‘सिचुएसन सेन्टर’ स्थापना

1.7K
SHARES
विदेशमा रहेका नेपालीको सम्भावित उद्धारका लागि सरकारको तयारी, परराष्ट्र मन्त्रालयमा ‘सिचुएसन सेन्टर’ स्थापना

काठमाडौं । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले द्वन्द्वग्रस्त मध्यपूर्वसहित विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले आवश्यक पूर्वतयारी सुरु गरिसकेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले संकटको समयमा मात्र होइन, पूर्वयोजनाका साथ काम गर्न मन्त्रालयको नेतृत्वमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिए । उनका अनुसार उक्त सेन्टरले विदेशमा रहेका नेपाली नागरिकहरूको अवस्था, स्थान र परिस्थितिबारे नियमित तथ्यांक संकलन तथा अद्यावधिक गर्नेछ ।

मन्त्री शर्माले मध्यपूर्वमा युद्ध सुरु हुँदा नेपाली नागरिक किन तत्काल स्वदेश फर्किँदैनन् भन्ने विषयमा पनि प्रष्ट पारे । उनका अनुसार अधिकांश नेपाली रोजगारीका लागि विदेश गएका हुने भएकाले युद्ध सुरु भएलगत्तै फर्किहाल्ने मानसिकता उनीहरूमा नहुने गर्दछ । नेपाल फर्किएपछि पुनः रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता उनीहरूलाई थाहा भएकाले पनि उनीहरू तत्काल फर्कन हतार गर्दैनन् ।

परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार हाल करिब १९ देखि २० लाख नेपाली नागरिक औपचारिक रूपमा विदेशमा रहेका छन् भने अनौपचारिक रूपमा समेत गर्दा यो संख्या २५ देखि ३० लाखसम्म पुग्ने अनुमान गरिएको छ । यति ठूलो संख्यामा रहेका नागरिकलाई आवश्यक परेमा उद्धार गर्नु चुनौतीपूर्ण काम भएकाले राष्ट्रिय स्तरमै योजना र पूर्वाधार तयार गर्नुपर्ने उनले बताए ।

राज्यले आफ्ना नागरिकलाई संकटमा अलपत्र छाड्न नमिल्ने भन्दै मन्त्री शर्माले आवश्यक परे २० देखि ३० लाख नेपालीको उद्धार गर्न सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । उनले ट्रान्जिटमा फसेका सीमित संख्याका नेपाली यात्रुहरूको समस्या भने चाँडै समाधान हुने पनि जानकारी दिए ।

यसैबीच, मन्त्री शर्माले मध्यपूर्वमा जारी इसराइल र इरानबीचको युद्ध आफ्नो चरम अवस्थामा पुगेर अहिले क्रमशः कमजोर बन्दै गएको आन्तरिक मूल्यांकन मन्त्रालयले गरेको बताए । उनका अनुसार युद्धको तीव्रता अब बिस्तारै घट्दै जाने र त्यहाँ रहेका नेपाली नागरिक प्रत्यक्ष निशानामा नरहेकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको छ ।

उनले अमेरिका र इसराइलको सहकार्यमा इरानमाथि गरिएको आक्रमणबाट सुरु भएको यस युद्धका मुख्य उद्देश्यहरू लगभग पूरा भइसकेको मन्त्रालयको विश्लेषण रहेको बताए । अमेरिकाले इरानको नेतृत्वलाई समाप्त पार्ने र इरानको आणविक शक्ति केन्द्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्य राखेको थियो, र ती उद्देश्यहरू धेरै हदसम्म पूरा भइसकेको उनको भनाइ छ ।

पश्चिमा राष्ट्रहरूले युद्ध केही दिनमै समाप्त हुने अनुमान गरे पनि आफ्नो अस्तित्व जोगाउन लडिरहेको राष्ट्रले सहजै हार नमानेकाले युद्ध केही लम्बिएको उनले बताए । तर युद्धको सबैभन्दा कठिन चरण पार भइसकेकाले आगामी दिनमा यसको तीव्रता क्रमशः घट्दै जाने मन्त्रालयको निष्कर्ष रहेको उनले स्पष्ट पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २८, बिहीबार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP