मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रंग, आस्था र उत्सवको उमंग: हिमाल–पहाडमा आज फागुपूर्णिमाको रौनक

2K
SHARES
रंग, आस्था र उत्सवको उमंग: हिमाल–पहाडमा आज फागुपूर्णिमाको रौनक

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमाका दिन हिमाली तथा पहाडी जिल्लामा फागुपूर्णिमा अर्थात् होली हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र उमंगको सन्देश बोकेको यो पर्व प्राचीनकालदेखि नै मनाइँदै आएको परम्परागत चाड हो ।

पछिल्ला वर्षहरूमा विशेषगरी उपत्यकामा होली मनाउने शैलीमा परिवर्तन आएको छ । पहिले जस्तो उच्छृंखलता कम हुँदै गएको र सुरक्षाकर्मीको सक्रियतासँगै पर्व सभ्य र व्यवस्थित बन्दै गएको देखिन्छ ।

वसन्तपुरमा चिर दहनको विशेष परम्परा
काठमाडौँको वसन्तपुर क्षेत्रमा उपस्थित सर्वसाधारणले रङ र अबिरले वातावरणलाई रङ्गीचङ्गी बनाउँदै त्यहाँ गाडिएको चिर विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगेर दहन गर्ने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधीय गुणका विश्वासका साथ लिने चलन छ भने चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहँदै आएको छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूख सजाएर चिर गाडेपछि फागु औपचारिक रूपमा सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि विशेष विधिबाट ल्याइएको चामलको भात र राँगाको मासु अर्पण गर्ने र सैनिक अस्पतालभित्र रहेको ‘जधु’ धारामा चुठाउने परम्परा पनि रहँदै आएको छ ।

पौराणिक कथासँग जोडिएको आस्था
होली पर्व त्रेतायुगीन कथासँग सम्बन्धित छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले अग्निले नछुने वरदान पाएकी बहिनी होलिकासँग आगोमा पस्न लगाउँदा होलिका भष्म भइन् भने प्रह्लाद सकुशल रहे । त्यस घटनालाई अधर्ममाथि धर्मको विजयको प्रतीक मान्दै होली मनाउने परम्परा बसेको विश्वास गरिन्छ ।

द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतना श्रीकृष्णलाई विषपान गराउन असफल भई मारिएको कथासँग पनि फागु जोडिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार त्यसपछि व्रजवासीले उत्सवका रूपमा फागु मनाउने परम्परा विकास भएको उल्लेख छ ।

आयुर्वेदिक महत्व पनि उत्तिकै
राम्रोसँग तयार गरिएका प्राकृतिक रङ र अबिरले छालाका रोग निवारणमा सहयोग गर्ने विश्वास छ । यसले शीतकालमा शरीरमा बढेको कफ घटाउन मद्दत गर्ने आयुर्वेदविद्हरू बताउँछन् । चिर दहनबाट निस्कने धुवाँले पनि वातावरणका केही कीटाणु नष्ट गर्ने जनविश्वास रहिआएको छ ।

तराईमा भोलि होली
हिमाल र पहाडमा आज मनाइए पनि तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ । यस वर्ष तराईका जिल्लामा मङ्गलबार सार्वजनिक बिदासहित होली मनाइँदै छ ।

विकृति घट्दै, सभ्यता बढ्दै
पछिल्ला वर्षहरूमा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, हानिकारक रासायनिक रङ प्रयोग गर्ने वा सवारीसाधनमा लोला हान्ने जस्ता गतिविधि क्रमशः घट्दै गएको पाइन्छ । समाजमा सचेतना बढेसँगै सुरक्षित र मर्यादित रूपमा पर्व मनाउने प्रवृत्ति बढ्दो छ ।

विभिन्न समुदायका आफ्नै रंगीन परम्परा
यो चाडमा थकाली समुदाय रङ्गीबिरङ्गी पोसाकमा सजिएर परिवारसहित भेला भई तिर हान्ने प्रतियोगिता आयोजना गर्छन् । सात दिनसम्म चल्ने उत्सवमा आफन्तजन भेला भई मीठा परिकारका साथ रमाइलो गर्ने परम्परा छ ।

नेपाल र भारतमा मुख्यतः रङको पर्वका रूपमा मनाइने होली विश्वका अन्य देशमा फरक–फरक नाम र शैलीमा मनाइन्छ । कतै पानी छर्केर, कतै आगोको पूजा गरेर, कतै नाचगान र हास्य प्रतियोगितामार्फत सामाजिक एकता र सद्भाव प्रवर्द्धन गरिन्छ ।

नाम फरक भए पनि मूल सन्देश एउटै छ— आपसी प्रेम, सहिष्णुता र सामाजिक एकताको उत्सव ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १८, सोमबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP