मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनाइँदै महाशिवरात्रि, पशुपतिमा विशेष व्यवस्थासहित भक्तजनको घुइँचो

1.3K
SHARES
मनाइँदै महाशिवरात्रि, पशुपतिमा विशेष व्यवस्थासहित भक्तजनको घुइँचो

काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने तिथिका आधारमा आज देशभर श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहेकामा त्यसपछि चतुर्दशी प्रारम्भ भएको छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म रहने भए पनि मध्यरातमा चतुर्दशी तिथि आइतबार नै परेकाले यही दिन पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा शिवरूप धारण गर्नुभएको शास्त्रीय मान्यता रहेकाले सोही समयमा पूजा–आराधना, दर्शन र व्रत गरेमा यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने विश्वास छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धापूर्वक पूजा–अर्चना गरिरहेका छन् । शिवजी प्रकट भएको रातका आधारमा नामकरण गरिएको यस पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ, जसको उल्लेख शिवपुराणलगायतका ग्रन्थमा पाइन्छ ।

महाशिवरात्रिलाई आशुतोष भगवान् शिवको प्रिय दिनका रूपमा पनि लिइन्छ । दीनदुःखी तथा कष्टपूर्ण अवस्थामा रहेका जीवजन्तु र मानव हृदयमा धर्मको उदय गराउने दिनका रूपमा यसको विशेष महत्त्व रहेको जनविश्वास छ । माघ महिनामा प्रकृतिमा देखिने रूख–बिरुवाको जीर्ण अवस्थापछि फागुनमा पलाउन सुरु हुनु शिवको रुद्रत्व र शिवत्वसँग जोडेर व्याख्या गरिने परम्परा पनि रहेको छ ।

व्रतमध्ये श्रेष्ठ मानिने यस दिन भक्तजनले उपवास बस्ने, रातभर जाग्राम गर्ने तथा दूध, धतुरो र बेलपत्र अर्पण गर्ने चलन छ । उपवास र जाग्राम गरे सर्वसिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । भगवान् महादेवलाई जाडो लाग्ने जनविश्वासका कारण घर–आँगन र मठमन्दिरमा धुनी बालेर भजन–कीर्तन गर्ने तथा प्रसाद तयार पार्ने परम्परा पनि छ ।

पशुपतिमा विशेष पूजा र व्यवस्थापन
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर मा रातका चार प्रहरमा विशेष पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सव गरिँदैछ । लाखौँ बेलपत्र अर्पण गरिने कार्यक्रम पनि तय गरिएको छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगानसमेत आयोजना गरिएको छ ।

देशका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत तीर्थयात्रीहरू पशुपतिनाथ दर्शनका लागि आएका छन् । विगत वर्षझैँ यस वर्ष पनि ठूलो सङ्ख्यामा भक्तजन उपस्थित हुने अनुमान गरिएको छ ।

चारै ढोका खुला, तीन बाहिरी लाइनको व्यवस्था
भक्तजनको सहजताका लागि आज बिहान २:00 बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका लागि तीन बाहिरी लाइनको व्यवस्था मिलाइएको छ भने पश्चिमतर्फ वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट प्रवेश गर्ने अर्को मार्ग पनि तयार गरिएको छ । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ अतिरिक्त लाइनसमेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरेपछि उत्तर र दक्षिणबाट तीन–तीन तथा पश्चिमबाट चार भित्री लाइनमार्फत दर्शन गराउने व्यवस्था मिलाइएको छ । सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय र वनकाली क्षेत्रमा स्थान तोकिएको छ ।

तीन वर्षअघिदेखि लागू गरिएको गाँजा, भाङ र धतुरोलगायत लागुपदार्थ निषेध यस वर्ष पनि कायम राखिएको छ । यस्ता पदार्थको सेवन वा बेचबिखन गरेको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ ।

आज उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत अन्य शिव मन्दिरमा पनि विशेष पूजा–आराधना र दर्शनका लागि भक्तजनको उल्लेख्य भीड लागेको छ । देशभर महाशिवरात्रि श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३, आईतवार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP