मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: आयोगद्वारा नागरिक शिक्षा सामग्री सार्वजनिक

637
SHARES
प्रतिनिधिसभा निर्वाचन: आयोगद्वारा नागरिक शिक्षा सामग्री सार्वजनिक

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले नागरिक शिक्षा प्रवर्द्धनका विविध स्रोत सामग्री तयार गरेको छ । मतदातालाई निर्वाचन प्रक्रियाबारे स्पष्ट जानकारी दिने उद्देश्यले लोकतन्त्र, निर्वाचन प्रणाली, समावेशिता, मतदाता नामावली तथा मतदान प्रक्रियासम्बन्धी विषय समेटेर सामग्री प्रकाशन गरिएको हो ।

आयोगका अनुसार स्रोत सामग्रीमा मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, राजनीतिक दलको भूमिका लगायतका विषयहरू पनि समावेश छन् । यसले नागरिकलाई आफ्नो मताधिकारबारे सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । आयोगले यस पुस्तिकालाई सर्वसाधारण, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी निकाय सबैका लागि उपयोगी हुने गरी तयार पारेको जनाएको छ ।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार उक्त सामग्रीको आधारमा सरकारी तथा नागरिक समाजका सम्बन्धित निकाय, संस्था र व्यक्तिहरूले नागरिक शिक्षा अभियान सञ्चालन गर्न सक्नेछन् । यसले निर्वाचन प्रक्रियामा जनसहभागिता बढाउन र मतदाता सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यसैबीच, आयोगले फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्रता दिने तयारी गरेको छ । गाउँ–नगरदेखि शहरी क्षेत्रसम्म मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका तथा निर्वाचन आचारसंहिताबारे जानकारी दिने कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन नागरिकको सक्रिय सहभागिता अपरिहार्य हुने भएकाले आयोगले सबै सरोकारवाला पक्षलाई नागरिक शिक्षा अभियानमा सहयोग गर्न आह्वान गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २९, बिहीबार ०१:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP