मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन र कृषिमार्फत् ओखलढुङ्गाको विकास अघि बढ्ने गुरुङको विश्वास

1.7K
SHARES
पर्यटन र कृषिमार्फत् ओखलढुङ्गाको विकास अघि बढ्ने गुरुङको विश्वास

काठमाडौं । ओखलढुङ्गामा आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक समीकरण एकाएक फेरिएको छ । भदौ २१ गते दलहरूले उम्मेदवार चयन गर्ने क्रममा नेकपा (एमाले) भित्र भएको निर्णयले जिल्लाको चुनावी माहोल नै बदलिएको विश्लेषण गरिएको छ । एमाले जिल्ला कमिटी तथा अधिकांश कार्यकर्ता जिल्ला कमिटीको सिफारिसअनुसार उम्मेदवार बन्नेमा विश्वस्त रहे पनि अन्ततः सिफारिमा नै नपरेका अस्मिता थापाले टिकट पाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।

जिल्लाका कार्यकर्ताको अपेक्षाभन्दा फरक निर्णय भएपछि एमालेभित्र ठूलो असन्तोष देखिएको र त्यसले संगठनमै असर पारेको बताइन्छ । जिल्ला अध्यक्ष जीवी खड्कासहित एमाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएपछि जिल्लाको राजनीतिक सन्तुलनमा उल्लेखनीय परिवर्तन आएको छ । गुरुङ नेकपाबाट उम्मेदवार बनेपछि विभिन्न पालिकामा एमालेको संगठनात्मक आधार कमजोर बन्दै गएको र ठूलो संख्यामा कार्यकर्ता नेकपामा प्रवेश गरेको दाबी गरिएको छ ।

राजनीतिक रूपमा एकाएक बदलिएको यस परिदृश्यले ओखलढुङ्गाको चुनावी माहोल नेकपाको पक्षमा गएको नेकपानिकट नेताहरूको भनाइ छ । गुरुङ स्वयं पनि १० हजारभन्दा बढी मतान्तरले विजयी हुनेमा आशावादी देखिन्छन् । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गुम्बु शेर्पाले गुरुङको समर्थनमा खुलेपछि नेकपाको आधार थप बलियो बनेको आँकलन गरिएको छ ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार एमालेभित्र देखिएको असन्तुष्टि र नेतृत्व तहमा भएको परिवर्तनले मतदातामा नयाँ सन्देश गएको छ । विगतमा प्रतिस्पर्धात्मक मानिएको क्षेत्र अहिले नयाँ ध्रुवीकरणतर्फ उन्मुख भएको देखिन्छ । चुनावी अभियान तीव्र बन्दै जाँदा विभिन्न दलहरूले आफ्नो प्रभाव कायम राख्न प्रयास गरिरहेका छन् ।

गुरुङले ओखलढुङ्गामा देखिएको राजनीतिक परिवर्तन देशभरका कम्युनिस्ट शक्तिका लागि उत्साहजनक भएको दाबी गरेका छन् । कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सबै कम्युनिस्ट घटक साझा एजेन्डामा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

निर्वाचनपछि कार्यान्वयन गर्ने योजनाबारे गुरुङले पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन्। ‘सगरमाथा क्षेत्रसँग जोडिएको नयाँ पर्यटकीय हब’ निर्माण गर्ने लक्ष्यसहित सिन्धुली, रामेछाप, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुङ्गालाई एउटै पर्यटकीय अवधारणामा जोड्ने उनको योजना रहेको छ । समन्वित पर्यटन विकासमार्फत क्षेत्रलाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्न सकिने उनको विश्वास छ । साथै कृषि उत्पादन वृद्धि, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा विशेष जोड दिने उनले बताएका छन् ।

निर्वाचन हुन अब करिब तीन साता मात्र बाँकी रहेकाले यस अवधिमा राजनीतिक उतारचढाव आउन सक्ने सम्भावना भने कायम छ । तर हाल देखिएको वातावरणले ओखलढुङ्गामा नेकपाको लहर अन्य दलका लागि चुनौतीपूर्ण बनेको विश्लेषण गरिएको छ । यही माहोलले उत्साहित गुरुङ आफू निर्वाचित हुनेमा सकारात्मक देखिएका छन् भने नयाँ कानुनी व्यवस्था ल्याएर क्षेत्रीय विकासलाई गति दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २८, बुधबार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP