मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जिल्ला जिल्लामा एमालेको प्रदर्शन, प्रतिनिधि सभा पुनर्स्थापनाको माग

3.1K
SHARES
जिल्ला जिल्लामा एमालेको प्रदर्शन, प्रतिनिधि सभा पुनर्स्थापनाको माग

काठमाडौं । नेकपा (एमाले)ले आज देशभर अधिकांश जिल्ला सदरमुकामहरूमा र्‍यालीसहित जनसभा गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सशक्त प्रदर्शन गरेको छ । जेनजी आन्दोलनका क्रममा व्यापक तोडफोड, हिंसा र आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले कारबाही गर्नुपर्ने मागसहित एमालेले देशव्यापी रूपमा सडक आन्दोलनलाई विस्तार गरेको हो ।

रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, लमजुङलगायतका जिल्लाहरूमा आयोजित जनसभामा एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्दै वर्तमान राजनीतिक घटनाक्रमप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् ।

बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाए ।

उनले भने, “जसले घुसपैठ गर्‍यो, जसले गुण्डागर्दी गर्‍यो, जसले आतंक फैलायो, जसले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायो— ती सबैलाई सरकारले किन कारबाही गरिरहेको छैन? हजारौँ कैदी जेलबाट छुटे, तिनलाई नियन्त्रणमा ल्याउन सरकारले के गरिरहेको छ?”

उनका अनुसार अपराधीको पहिचान र कारबाहीको प्रक्रिया ढिलो हुनु सरकारले विधिको शासनमा गम्भीर चुनौती देखाएको संकेत हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको राजनीतिक स्वरूप नै बदलिएको छ । आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिँदै सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा जान बाध्य भएका थिए ।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ र फागुन २१ गते नयाँ चुनावको मिति घोषणा गरिएको छ ।

एमालेले भने प्रतिनिधि सभा विघटन संविधानविपरीत भएको दाबी गर्दै त्यसको चर्को विरोध गर्दै आएको छ । पार्टीका शीर्ष नेताहरूले सडक आन्दोलनमार्फत प्रतिनिधि सभा पुनर्स्थापना गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिएका छन् ।

नयाँ चुनावको मिति घोषणा भइसके पनि एमाले चुनावमा सहभागी नहुने अडानमा देखिएको छ । उनीहरूका अनुसार प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म देशमा नयाँ चुनाव गर्नु राजनीतिक तथा संवैधानिक अन्याय हुनेछ ।

एमालेको आजको देशव्यापी प्रदर्शनपछि राजनीतिक द्वन्द्व थप चुलिन सक्ने अनुमान गरिएको छ । एक पक्ष प्रतिनिधि सभा विघटनलाई स्वाभाविक मानिरहेको बेला एमालेलगायतका समूहले सडक आन्दोलनलाई तीव्र बनाउँदै दबाब सिर्जना गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २९, शनिबार १२:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP