मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी प्रतिनिधि गुरुङको चेतावनी: ‘माग पूरा नभई चुनाव सम्भव छैन’

2.2K
SHARES
जेनजी प्रतिनिधि गुरुङको चेतावनी: ‘माग पूरा नभई चुनाव सम्भव छैन’

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले संगठनका मागहरू पूरा नगरी देशमा निर्वाचन हुन नसक्ने चेतावनी दिएका छन् । बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटका जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि पुगेका उनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तोष व्यक्त गर्दै यस्तो बताएका हुन् ।

गुरुङले जेनजी आन्दोलनका मागहरू पूरा गर्ने प्रतिबद्धता बारम्बार भए पनि त्यसअनुसार कार्यान्वयन नभएको आरोप लगाए । उनका अनुसार, गृहमन्त्री अर्यालले पटक–पटक माग पूरा हुने विश्वास दिलाए पनि अहिले उल्टै निर्वाचनको तयारीमा लागेर आन्दोलनकारीहरूप्रति बेवास्ता देखाएका छन् ।

उनले भने, “समग्र जेनजी टिम एक ठाउँमा छ, एक–दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरूलाई पनि हामी बोलाउँछौँ । तर माग पूरा नभइकन कसरी चुनाव हुन्छ ? यो कुरा गृहमन्त्रीज्यूले नै जिम्मा लिनुपर्छ ।”

गुरुङले गृहमन्त्रीसँग विगतका विभिन्न स्थानहरूमा, जस्तै जंगी अड्डा र राष्ट्रपति कार्यालयमा, प्रत्यक्ष संवाद भएको स्मरण गर्दै भने, “त्यो बेला उहाँले हामीलाई आश्वासन दिनुभएको थियो— माग पूरा हुन्छ । तर अहिले आएर उहाँहरू चुनावको कुरा मात्र गर्दै हुनुहुन्छ भने त्यो हामीप्रति धोका हो ।”

उनले हालका सबै जेनजीहरू एउटै उद्देश्यका लागि एकजुट रहेको दाबी गर्दै माग पूरा नभए नयाँ आन्दोलनको तयारी भइरहेका संकेत पनि दिए । “हामी शान्तिपूर्ण रूपमा अघि बढिरहेका छौँ, तर माग बेवास्ता गर्न खोजियो भने आन्दोलन अपरिहार्य हुन्छ,” उनले भने ।

गुरुङको भनाइले जेनजी आन्दोलन र सरकारबीचको विश्वास पुनः संकटमा परेको संकेत गरेको छ । अहिले गृहमन्त्री अर्याल नेतृत्वको गृह प्रशासनले मागहरूको मूल्यांकन अन्तिम चरणमा पुगेको बताइरहेको छ, तर आन्दोलनकारी पक्ष त्यसबारे सन्तुष्ट छैन ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यदि जेनजी आन्दोलनले पुनः सडक ततायो भने आगामी निर्वाचन तालिका प्रभावित हुन सक्ने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २७, बिहीबार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP