मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गंगा दाहालले प्रचण्ड सचिवालयबाट दिइन् राजीनामा

2K
SHARES
गंगा दाहालले प्रचण्ड सचिवालयबाट दिइन् राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयमा रहेको आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् ।

उनका अनुसार पछिल्ला दिनमा आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भ्रामक समाचार र चरित्रहननका अभियान चलाइएका कारण राजीनामाको निर्णय लिइएको हो । काठमाडौंमा बसेकी उनले यस्तो आरोपले आफ्नो आत्मसम्मानमात्र होइन, पार्टी र नेतामाथि समेत नकारात्मक प्रभाव पारिरहेको बताएकी छन् ।

गंगाले भनेकी छन्, “कमरेड प्रचण्डको सचिवालयमा म भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी सम्हाल्न आएकी थिएँ । मम्मी सीता दाहाल बिरामी भएकाले हेरचाहसँगै सचिवालयमा बसेर निस्वार्थ रूपमा काम गरेँ ।”

आफूले सबैको चाहना अनुरूप काम गर्न नसकेको स्वीकार गर्दै उनले आत्मआलोचना समेत गरेकी छन् । “व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ । सहयोगीको भूमिकामा रहेर विवादरहित रूपमा योगदान दिन खोजेँ, तर जति बच्न चाहे पनि विवादमा त पर्नै रहेछ,” उनले उल्लेख गरेकी छन् ।

विगतमा आफू र परिवारलाई लक्षित गर्दै भइरहेको आरोपप्रति उनले आपत्ति जनाएकी छन् । “कहिले लाखौं पर्ने ब्याग भनिन्छ, कहिले घडी । मैले त्यस्ता सामान कहिल्यै किनेकी छैन । साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ । तर फेरि फेरि त्यही कुरा दोहोर्याएर प्रहार गरिन्छ,” उनले लेखेकी छन् ।

उनका अनुसार माओवादी केन्द्र र संयोजक प्रचण्डमाथि योजनाबद्ध रूपमा प्रहार गर्न आफूलाई माध्यम बनाइएको छ । त्यही विरोधस्वरूप आफू सचिवालयबाट हटेको उनले बताएकी छन् । “संयोजक र पार्टीविरुद्ध भइरहेका योजनाबद्ध प्रहारका कारण राजीनामा दिएको हुँ । तर म पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले आजीवन क्रियाशील रहन्छु,” गंगाको भनाइ छ ।

राजीनामा घोषणा गर्दै उनले सचिवालयमा सहयोग गर्ने नेतादेखि कार्यकर्ता र आम नागरिकसमेतप्रति आभार व्यक्त गरेकी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ३, सोमबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP