मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रिपरिषद् विस्तारको तयारी, जेनजी प्रतिनिधिहरू सरकारमा

3.2K
SHARES
मन्त्रिपरिषद् विस्तारको तयारी, जेनजी प्रतिनिधिहरू सरकारमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका युवाहरूमार्फत मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छिन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आउँदो सोमबारसम्म चार नयाँ मन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।

यसपटक सरकारमा समावेश हुन लागेका मन्त्रीहरू विविध सामाजिक अभियान र जनसरोकारका मुद्दामा लामो समयदेखि सक्रिय छन् ।

गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । सम्पदा संरक्षणमा सक्रिय श्रेष्ठले रानीपोखरी, बालगोपालेश्वर, खुलामञ्च लगायतका क्षेत्रमा देखिएको भौतिक विघटनविरुद्ध आवाज उठाउँदै आएका छन् ।

त्यस्तै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री हुनेछन् । ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थी पढाउँदै आएका गुप्ता कोभिडकालमा निःशुल्क खाना र रगत व्यवस्थापन अभियानमा सक्रिय थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी रामजी रामले सम्हाल्नेछन् । रौतहटका चमार समुदायबाट पहिलो डाक्टर बनेका रामजीले आर्थिक संघर्षबीच एमबीबीएस अध्ययन पूरा गरेका थिए । उनी स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षासहित सरकारमा प्रवेश गर्दैछन् ।

टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको दिइने चर्चा छ । उनले हुम्लाको लिमि भ्यालीकी टासी जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्दै आएकी हुन् । टासीले भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नाताक तह अध्ययन गरेकी छन् ।

यद्यपि, प्रधानमन्त्री कार्कीले उनको नियुक्ति विषयमा थप छलफल गरिरहेकी छन् ।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले युवाहरूलाई मात्र मन्त्री बनाएर होइन, सचिवालयमै पनि समावेश गर्ने तयारी गरिरहेकी छन् । यो कदम नेपाली राजनीति र प्रशासनमा जेनजी पुस्ताको संस्थागत सहभागिता सुनिश्चित गर्ने दिशातर्फ संकेतको रूपमा हेरिएको छ ।

प्रधानमन्त्री कार्की २०७९ भदौ २७ गते प्रधानमन्त्री बनेकी थिइन् । यसअघि उनले दुई पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् । हाल आठ सदस्यीय मन्त्रिपरिषद् रहेको छ, जसमा नयाँ मन्त्रीहरू थपिने तयारी गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २५, शनिबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP