मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रजातन्त्रका कमान्डर सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै

1.4K
SHARES
प्रजातन्त्रका कमान्डर सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग, साहस र नेतृत्वको प्रतीकका रूपमा चिनिने सिंहको स्मृतिमा नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले कार्यक्रमको आयोजना गरेका छन् ।

आज बिहान ७ः४५ बजे शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेर औपचारिक कार्यक्रम सुरु गरिने छ ।

त्यागको राजनीतिमा अमिट योगदान
सिंहले २०४६ को आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अगाडि सारेर नेपाली राजनीतिमा त्यागको अद्वितीय उदाहरण प्रस्तुत गरेका थिए ।

राजनीतिक जीवन र संघर्ष
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको चाक्सीबारीमा जन्मिएका सिंह वि.सं. १९९७ मा स्थापित नेपालको पहिलो राजनीतिक दल ुप्रजा परिषद्ुका सदस्य भई राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भएका थिए ।

राणाविरोधी अभियानमा संलग्नताका कारण जेल परेका सिंह भद्रगोल जेल फोडेर भाग्न सफल भएका थिए र भारतमा पुगेर बीपी कोइरालासँग राजनीतिक सहकार्य गरेका थिए ।

उनले वि.सं. २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको विस्तारमा ठूलो भूमिका खेले । वि.सं. २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्दै अगुवाका रूपमा देखा परे ।

राजनीतिक बन्दी जीवनदेखि आन्दोलनको कमान्डरसम्म
वि.सं. २०१५ को आमनिर्वाचनपछि बनेको सरकारले उनी वरिष्ठ मन्त्रीको भूमिका निभाए । तर २०१७ मा प्रजातन्त्र अपहरण भएपछि उनले आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजल कारागारमा बन्दी जीवन बिताए ।

वि.सं. २०३३ मा बीपी कोइरालासँगै स्वदेश फर्केर मेलमिलापको नीति लिँदै पञ्चायती शासनविरुद्ध निरन्तर संघर्ष गरे ।

वि.सं. २०४२ को सत्याग्रह आन्दोलन र २०४६ सालको जनआन्दोलनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । पञ्चायती व्यवस्थाको अन्त्यका लागि कम्युनिस्ट पार्टीसँग मिलेर गरिएको जनआन्दोलनमा सिंह आन्दोलनको सर्वोच्च कमान्डर थिए ।

अविस्मरणीय योगदानको सम्झनामा श्रद्धाञ्जली
वि.सं. २०५४ असोज २ गते दिवंगत भएका सिंहको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै आजको स्मृति दिवस मनाइएको हो । नेपाली कांग्रेसले सिंहको आदर्श र योगदानलाई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने प्रतिबद्धता जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार ००:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP