मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘प्रहरी कार्यालय ध्वस्त, नियमित काममा फर्किन कठिन’ : आईजीपी खापुङ

2.3K
SHARES
‘प्रहरी कार्यालय ध्वस्त, नियमित काममा फर्किन कठिन’ : आईजीपी खापुङ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले हालैका घटनाक्रमले प्रहरी संगठनमा गम्भीर क्षति पुर्‍याएको भन्दै नियमित सेवा सञ्चालनमा कठिनाइ भोगिएको बताएका छन् । आइतबार भिडियो सन्देशमार्फत उनले यो संकटको अवस्थामा आम नागरिकले देखाएको सद्भाव र सहयोगप्रति आभार प्रकट गरेका हुन् ।

आईजीपी खापुङले भने, “हाम्रा प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका छन् । सवारीसाधन, पोसाक र अन्य सामग्रीहरू नष्ट वा हराएका छन्, जसका कारण दैनिक कामकाज सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ ।”

उनले नागरिकस्तरबाट प्रहरी कार्यालयहरू पुनः सञ्चालन गर्न थालिएको अभियानको प्रशंसा गर्दै भने, “यहाँहरूले देखाउनुभएको अपनत्वले मलाई भावुक बनाएको छ । यसले समाजमा ‘प्रहरी हाम्रा लागि हो’ भन्ने भावना पुनः जागृत गराएको छ ।”

महानिरीक्षक खापुङले पूर्व प्रहरी, स्थानीय बासिन्दा, उद्योगी-व्यवसायी र सञ्चारकर्मीहरूप्रति समेत सहयोगको अपेक्षा व्यक्त गर्दै, यस्तो संकटको समयमा आपसी वैमनस्यता र प्रतिशोधको भावना त्यागेर शान्ति, सुरक्षा र भ्रातृत्वका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

भदौ २३ र २४ भदौमा राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा जेन-जी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, नेताका सन्तानको विलासी जीवनशैली र विद्यमान बेथितिको विरोधमा प्रदर्शन गरेका थिए । पहिलो दिनको प्रदर्शनमा केही प्रदर्शनकारीको ज्यान गएको थियो भने दोस्रो दिन प्रदर्शनकारी र प्रहरी दुवै पक्षमा क्षति पुगेको थियो ।

प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भयो । विशेषगरी प्रहरी कार्यालयहरूमा व्यापक तोडफोड, आगजनी र लुटपाटका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार १४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP