मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

1.7K
SHARES
प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीलाई बिदाइ गरेका थिए । प्रधानमन्त्रीको बिदाइमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा चीनस्थित नेपाली राजदूतावासका प्रतिनिधिहरूको उपस्थिति थियो ।

त्यसअघि नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गर्नेछन् ।

यसै क्रममा, प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने चीनको ८०औँ वार्षिकोत्सव कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।

सन् २०१६ देखि संवाद साझेदार बनेको नेपालले एससीओ शिखर सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको छ । सन् २००१ मा स्थापित एससीओ अहिले विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । यसका पूर्ण सदस्य राष्ट्रमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस छन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रका रूपमा छन् भने नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार हुन् ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले सहभागी विभिन्न राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक मुद्दाहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १४, शनिबार ०५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP