मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वास्थ्य मन्त्रालयद्वारा आईभीएफ सेवा नियमनः कडा मापदण्ड जारी

1.6K
SHARES
स्वास्थ्य मन्त्रालयद्वारा आईभीएफ सेवा नियमनः कडा मापदण्ड जारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवा व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णयअनुसार तयार गरिएको यस मापदण्डमा सरोकारवाला विज्ञहरूसँगको छलफलको आधारमा नियमावली तय गरिएको हो ।

नयाँ मापदण्डअनुसार शुक्रकीट वा अण्डा दान गर्ने व्यक्तिको उमेर २०—३५ वर्षको बीचमा हुनुपर्छ । दाता स्वास्थ्य परीक्षणबाट रोगमुक्त हुनुपर्ने र विवाहित अवस्थामा दम्पतीको लिखित स्वीकृति अनिवार्य हुनेछ । दाताको परिचय गोप्य राखिनेछ र एउटै व्यक्तिले निर्धारितभन्दा बढी पटक दान गर्न नपाउने व्यवस्था गरिएको छ । प्रलोभन वा दबाबमा दान गरिन नपाइने प्रावधान पनि राखिएको छ ।

मन्त्रालयका अनुसार, यस मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको सञ्चालन, प्रयोगशाला व्यवस्थापन, जनशक्ति र डोनर प्रक्रियामा पहिलोपटक व्यवस्थित रूपरेखा प्रस्तुत गरेको छ । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले यसले सेवा प्रदायकलाई जिम्मेवार बनाउने र मापदण्ड उल्लङ्घनमा कानुनी कारबाही हुने बताए ।

सेवामा न्यूनतम पूर्वाधार, दक्ष जनशक्ति र उपकरणको आवश्यकता अनिवार्य गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्ट र एनेस्थेसियोलोजिष्ट हुनु पर्नेछ । भवन राष्ट्रिय भवन संहिता अनुसार हुनु पर्ने, एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्षको व्यवस्था अनिवार्य गरिएको छ ।

मन्त्रालयले सेवा शुल्क पारदर्शी बनाउने र प्रत्येक संस्थाले १० प्रतिशत सेवाग्राहीलाई निःशुल्क सेवा दिनुपर्ने व्यवस्था गरेको छ । नियमित अनुगमन मार्फत गुणस्तर र मापदण्ड पालना नभएको केन्द्रको अनुमति खारेज गर्न सकिने प्रावधान पनि लागू हुनेछ ।

प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, निःसन्तान उपचार सेवा सुरक्षित, गुणस्तरीय र विश्वसनीय बनाउन यो मापदण्ड निर्णायक कदम हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०९:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP