मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति पौडेलद्वारा पुनर्विचारका लागि फिर्ता

2.1K
SHARES
संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति पौडेलद्वारा पुनर्विचारका लागि फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको विधेयक पुनर्विचारका लागि फिर्ता पठाएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिको धारणा संविधानको मर्म, लोकतान्त्रिक मूल्य र विश्वव्यापी अभ्याससँग विधेयकको केही प्रावधान असहमतजनक भएको भन्ने रहेको छ । संविधानको धारा ११३(३) बमोजिम बिहीबार उक्त विधेयक प्रतिनिधिसभामा पुनर्विचारका लागि फर्काइएको हो ।

विधेयक असार ३१ गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो । सात दिनसम्म अध्ययनपछि राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण नगरी फिर्ता पठाएका हुन् ।

संविधानको धारा ११३ अनुसार राष्ट्रपतिलाई अर्थ विधेयकबाहेक अन्य विधेयकप्रति शंका भएमा १५ दिनभित्र सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउने अधिकार हुन्छ ।

विधेयक फिर्ता भएपछि कांग्रेसभित्र यसबारे थप छलफल आवश्यक रहेको आवाज उठेको छ । कांग्रेसका नेताहरूले राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट पारित संशोधनमा गरेको फेरबदल लोकतान्त्रिक सिद्धान्तसँग मेल नखाने भन्दै विधेयक पुनः छलफलमा ल्याउनु पर्ने माग गर्दै आएका थिए ।

नेपालको संविधानले प्रधानमन्त्रीको अध्यक्षतामा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख र प्रधानन्यायाधीशसहित ६ सदस्यीय संवैधानिक परिषद्को व्यवस्था गरेको छ ।

फिर्ता पठाइएको विधेयकमा संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद्को निर्णय सर्वसम्मतिमा हुनुपर्ने व्यवस्था गरिएको थियो । तर सर्वसम्मति नबनेको अवस्थामा प्रधानमन्त्री (परिषद्का अध्यक्ष) र तत्काल सक्रिय सदस्यहरूको ५० प्रतिशत बहुमतबाट निर्णय गर्न सकिने उल्लेख गरिएको थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पनि यही प्रावधानलाई कायम राख्दै विधेयक राष्ट्रिय सभामा पठाएको थियो । यतिबेला यस प्रावधानलाई लिएर कांग्रेस र एमालेबीच विवाद चर्किएको थियो । कांग्रेसले बहुमतको परिभाषालाई लिएर स्पष्टता माग गरिरहेको छ भने एमालेले सरकारको प्रस्तावित प्रारूपमै विधेयक अघि बढाएको हो।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार ०४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP