मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारको एक वर्षः प्रधानमन्त्री ओलीको दाबी— ‘आर्थिक सूचकांक सकारात्मक, काममा गति’

2.1K
SHARES
सरकारको एक वर्षः प्रधानमन्त्री ओलीको दाबी— ‘आर्थिक सूचकांक सकारात्मक, काममा गति’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दा देशको आर्थिक सूचकांक सकारात्मक दिशातर्फ उन्मुख भएको दाबी गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले सरकारी कामकाजमा गति आएको, प्रणालीगत सुधार शुरू भएको र नागरिक सेवामा सहजता पुगेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीका अनुसार, विगतमा काममा समयसीमा (टाइमलाइन) निर्धारण गर्ने चलन थिएन, तर अहिले हरेक आयोजनामा नतिजामुखी सोचसहित समयबद्ध योजना कार्यान्वयन थालिएको छ । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यसबीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’ उनले भनेका छन् ।

नागरिक सेवामा डिजिटल प्रणालीको जोड
प्रधानमन्त्री ओलीले प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउने लक्ष्यसहित धेरै कानुन संशोधन गरिएको उल्लेख गरे । ती कानुनमार्फत सरकारी सेवा प्रवाहमा डिजिटल प्रणालीलाई प्राथमिकता दिइएको र यसले ‘लाइन होइन अनलाइन’बाट सेवा लिने संस्कारलाई प्रवर्द्धन गरेको उनको भनाइ छ ।

‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ,’ प्रधानमन्त्रीको स्टाटसमा उल्लेख गरिएको छ ।

अहिलेसम्मको उपलब्धि र बाँकी काम
प्रधानमन्त्रीले लेखेका छन्, ‘गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।’ उनले आर्थिक सुधार, रोजगार सृजना, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार लगायतका प्राथमिकतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

उनका अनुसार मेलम्ची खानेपानी, निजगढ विमानस्थल, फास्ट ट्र्याक, रेल सेवा, ऊर्जा उत्पादन र वितरण प्रणाली सुधारजस्ता राष्ट्रिय परियोजनाहरूले उल्लेखनीय प्रगति गरेका छन् । यद्यपि तीमध्ये कतिपय आयोजनामा ढिलाइसमेत देखिएको आलोचना भइरहेको बेला प्रधानमन्त्रीको सन्देश आएको हो ।

बिपक्षी दलहरूको आलोचना पनि कायमै
प्रधानमन्त्रीको दाबी सार्वजनिक भइरहेका बेला विपक्षी दलहरू भने सरकारको एक वर्षे कार्यसम्पादनप्रति सन्तुष्ट छैनन् । उनीहरूले भ्रष्टाचार नियन्त्रण, महँगी नियन्त्रण, सुशासन र सामाजिक न्यायका मुद्दामा सरकार चुकेको आरोप लगाउँदै आएका छन् ।

विश्लेषकहरू भन्छन्, सरकारले डिजिटल प्रविधिमा जोड दिएको भए पनि त्यो सबै तह र वर्गसम्म पुग्न अझ समय लाग्ने देखिन्छ । साथै, आर्थिक सूचकांकहरू सकारात्मक देखिए पनि त्यो आम नागरिकको जीवनस्तरमा प्रत्यक्षरूपमा कति प्रभाव पार्न सकेको छ भन्ने अझै बहसको विषय छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३०, सोमबार ०४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP