मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपा–राप्रपाको विरोधका बीच प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे संसदमा जानकारी

2.4K
SHARES
रास्वपा–राप्रपाको विरोधका बीच प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे संसदमा जानकारी

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा(को अवरोधको साक्षी बन्यो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिनको माग गर्दै दुवै दलले बैठक अवरुद्ध गरे ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पेन भ्रमणका बारेमा जानकारी दिन समय दिनासाथ रास्वपाका सांसदहरू उभिएर नाराबाजी गर्न थाले । नाराबाजीपछि उनीहरू बैठकस्थलबाट बाहिरिए । बैठक अवरुद्ध गर्न रास्वपाका सांसदहरूले ‘बेल घेराउ’ समेत गरेका थिए । राप्रपाका सांसदहरू भने रोशन कार्कीको सम्बोधनपछि बैठक बहिष्कार गर्दै बाहिरिए ।

यसबीच, प्रधानमन्त्री ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणका बारेमा सांसदहरूलाई जानकारी गराउँदै भने, ‘हामी राष्ट्रिय हित, स्वाभिमान र सम्मानलाई सर्वोपरी राखेर प्रस्तुत भएका थियौं। भ्रमणको प्रत्येक अवसरलाई नेपालका लागि लाभदायक बनाउन प्रयत्न गरिएको छ।’

उनले स्पेन भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता, दुईपक्षीय भेटवार्ता, प्रवासी नेपालीसँग अन्तरक्रिया लगायतका विषयहरूबारे व्याख्या गरे । प्रधानमन्त्रीका अनुसार भ्रमणमा ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ प्रमुख प्राथमिकता थियो ।

भ्रमण विवरणपछि प्रधानमन्त्री ओलीले हालै सार्वजनिक एसईई नतिजालाई समेट्दै परीक्षा प्रणालीमा केही सुधार आएको उल्लेख गरे । ‘यसपालिको नतिजामा सकारात्मक संकेत देखिएको छ,’ उनले भने, ‘शिक्षा प्रणालीमा सुधार ल्याउने हाम्रो संकल्प दृढ छ।’

यता, रास्वपा र राप्रपा सांसदहरू भने गृह मन्त्रालयप्रति आक्रोशित छन् । उनीहरूले गृहमन्त्री लेखकमाथि नैतिक, राजनीतिक र प्रशासनिक उत्तरदायित्व बहन नगरेको आरोप लगाउँदै आएका छन् । सांसदहरूले अनुसन्धानको दायरा फराकिलो पार्न संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन् ।

विपक्षी दलहरूको निरन्तर अवरोधले संसदको कार्यसूची प्रभावित हुँदै गएको छ । संसदीय गतिरोध चिर्न सत्ता र प्रतिपक्षबीच संवाद आवश्यक देखिएको बेला, दुवै पक्ष आ–आफ्नो अडानमा कायम देखिन्छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १४, शनिबार ०६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP