मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापमा निर्माणाधीन तामाकोशी पुल पुनः भाँचियो, गुणस्तरप्रति शंका

3.3K
SHARES
रामेछापमा निर्माणाधीन तामाकोशी पुल पुनः भाँचियो, गुणस्तरप्रति शंका

काठमाडौं । रामेछाप जिल्लामा तामाकोशी नदीमाथि निर्माण भइरहेको बहुप्रतिक्षित पक्की पुल पुनः भाँचिएको छ । २२ करोडभन्दा बढी लागतमा निर्माणाधीन सो पुल सुरक्षाको गम्भीर प्रश्न खडा गर्दै आइतबार बिहान पुनः भत्किएको हो ।

पुल मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं. ७ भटौलीको ठेडिखोला जोड्ने उद्देश्यले निर्माणाधीन थियो । गत वैशाख २६ गते भाँचिएको स्ल्याबलाई पुनः निर्माण गर्दै गर्दा आइतबार सोही स्ल्याब फेरि पूर्णरूपमा खसेको स्थानीय बासिन्दा सुरज श्रेष्ठले जानकारी दिए । घटनापछि घटनास्थलमा स्थानीयको भिड लागेको छ ।

निर्माण कम्पनीको लापरवाही ?
पुलको ठेक्का कालिका–कल्पवृक्ष जेभीले पाएको हो । सडक विभागको पुल शाखाले २०७७÷७८ मा ठेक्का दिएको यो पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा निर्माण भइरहेका कारण गुणस्तर अनुगमन र जिम्मेवारी अझ संवेदनशील हुने अपेक्षा गरिन्छ । पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटरको छ ।

सरकारले करबाहेक २२ करोड ५५ लाख रुपैयाँको ठेक्का सम्झौता गरेकामा निर्माण कम्पनीले हालसम्म ६० प्रतिशतभन्दा बढी रकम भुक्तानी लिइसकेको छ । तर निर्माणकै क्रममा दुईपटक भाँचिनु निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरिरहेको छ ।

स्थानीय यातायात र भरोसामा धक्का
पुल निर्माण सम्पन्न भएपछि काठमाडौं–रामेछाप आवागमनमा ठूलो सहुलियत हुने अपेक्षा गरिएको थियो । विशेष गरी मन्थली–खुर्कोट सडक हुँदै भटौली, खाँडादेवी र दोरम्बा शैलुङका विभिन्न वडामा सिधा पहुँच विकास हुने थियो । तर पुनः पुल भत्किँदा यात्रुहरूको अपेक्षा र स्थानीयको भरोसामा धक्का पुगेको छ ।

स्थानीयहरूका अनुसार निर्माण कम्पनीको ध्यान गुणस्तरमा नभई मात्र म्याद भित्र निर्माण सम्पन्न देखाउने मानसिकतातर्फ केन्द्रित देखिन्छ । ‘पुलको ठोस संरचना नभई ‘डमी’ काम गरेर ढाकछोप गर्न खोजेको देखिन्छ,’ एक स्थानीय युवा समितिका सदस्यले प्रतिक्रिया दिए ।

जिम्मेवारीको खोजी र सरकारी निरीक्षणको माग
लगातार भाँचिएको स्ल्याबका विषयमा निर्माण कम्पनी, डिजाइन स्वीकृति निकाय र अनुगमन अधिकारीहरूसमेतको भूमिकामाथि प्रश्न उठेको छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले यथाशीघ्र प्राविधिक परीक्षण, सार्वजनिक प्रतिवेदन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

सडक विभाग, निर्माण व्यवसायी संघ र सरोकारवाला निकायले घटनाप्रति स्पष्टीकरण दिनुपर्ने आवाज पनि उठेको छ । अनुगमनको अभावमा सार्वजनिक लगानीबाट बन्ने पूर्वाधारहरू जोखिमपूर्ण बन्ने खतरा बढिरहेको आलोचकहरूको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ८, आईतवार ०७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP