मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनुवार भाषा–साहित्य पुरस्कार २०८३ डा. लाल रापचालाई प्रदान

507
SHARES
सुनुवार भाषा–साहित्य पुरस्कार २०८३ डा. लाल रापचालाई प्रदान

काठमाडौं । सुनुवार सेवा समाजअन्तर्गत रहेको टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति कोषद्वारा प्रदान गरिने भाषा, साहित्य तथा कला पुरस्कार २०८३ भाषाविद् तथा अनुसन्धाता डा. लाल रापचालाई प्रदान गरिएको छ ।

काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाज संघीय समितिको कार्यालयमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारले डा. रापचालाई दोसल्ला, नगद राशी र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

आयोजकका अनुसार सुनुवार (कोइँच) भाषा, साहित्य, संस्कृति तथा अनुसन्धानको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै डा. रापचालाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो । उनी किराती भाषा, मुन्धुम र विशेषगरी सुनुवार भाषा–साहित्यको अध्ययन तथा अनुसन्धानका लागि परिचित व्यक्तित्व हुन् ।

सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृतबहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा, फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्याल्मो, सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरद्विप सुनुवार, सल्लाहकार रणबीर सुनुवार, पूर्वअध्यक्ष मनप्रसाद सुनुवार, संस्थापक सदस्य प्रेमबहादुर सुनुवारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुनुवार समुदायको भाषा, संस्कृति र सामाजिक विकासमा योगदान पुर्‍याएको भन्दै गाउँपालिका अध्यक्षद्वय गम्बु शेर्पा र पार्वती सुनुवारलाई समेत सम्मान गरिएको थियो ।

स्मृति कोषको उद्देश्य
टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति कोषले सुनुवार समुदायको भाषा, कला, संस्कृति, साहित्य तथा पत्रकारिताको संरक्षण र प्रवर्द्धनमा योगदान गर्ने स्रष्टा तथा व्यक्तित्वलाई प्रत्येक वर्ष नगद पुरस्कारसहित सम्मान गर्दै आएको छ । यसअघि पनि यस कोषबाट चित्रकार, सङ्गीतकर्मी तथा सञ्चारकर्मीहरू सम्मानित भइसकेका छन् ।

स्वर्गीय टेकबहादुर सुनुवार र विष्णुमाया सुनुवारको स्मृतिमा उनीहरूका छोरीहरू सावित्री सुनुवार र तारादेवी सुनुवार तथा छोराहरू अर्जुन सुनुवार र केदारराज सुनुवारले संयुक्त रूपमा २०७५ सालमा यो कोष स्थापना गरेका थिए । कोषको मुख्य उद्देश्य भाषा, साहित्य र कलामार्फत आदिवासी सुनुवार (कोइँच) भाषाको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय स्रष्टालाई प्रोत्साहन गर्नु हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १, सोमबार ०५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP