मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशमा नागरिकदेखि सांसदसम्म असुरक्षित छन् : हर्क साम्पाङ

273
SHARES
देशमा नागरिकदेखि सांसदसम्म असुरक्षित छन् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई (साम्पाङ) ले मुलुकमा सुरक्षा, न्याय र नागरिक सेवा कमजोर बन्दै गएको भन्दै सरकारप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनले अहिलेको अवस्थाले नागरिक मात्रै नभई सांसदसमेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले देशमा झैझगडा, आगजनी, धम्की तथा असुरक्षाका घटना बढिरहेको तर त्यसबारे उजुरी गर्दा समेत प्रभावकारी कारबाही हुन नसकेको दाबी गरे । उनले यात्राका क्रममा समेत नागरिकले असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको बताए ।

उनका अनुसार राज्यले नागरिकलाई सुरक्षा दिन नसक्दा ‘कस्तो देशमा छौं’ भन्ने प्रश्न उठ्न थालेको छ । सुरक्षा र न्यायको प्रत्याभूति हुन नसकेको तथा आवश्यक सेवा–सुविधासमेत सहज रूपमा उपलब्ध नभएको उनको भनाइ थियो ।

साम्पाङले सरकारले जनताको वास्तविक समस्या बुझ्न सडकमा पुगेर काम गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि माइतीघरमा विभिन्न माग राखेर बसेका नागरिकलाई भेट्न मन्त्रीहरू स्वयं पुग्नुपर्ने उनको भनाइ थियो । मन्त्रालयको वातानुकूलित कोठामा बसेर मात्रै जनताको समस्या बुझ्न नसकिने उनले टिप्पणी गरे ।

‘जनताको पीडा महसुस हुनुपर्छ’ भन्दै उनले दैनिक ग्यासको लाइनमा घण्टौँ बस्नुपर्ने नागरिकको अवस्था सरकारले बुझ्नुपर्ने बताए । आफूहरू सुविधासम्पन्न अवस्थामा रहेर सर्वसाधारणको दुःख बुझ्न नसकिने उनको भनाइ थियो ।

साम्पाङले वर्तमान समस्याका लागि प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई समेत जिम्मेवार ठहर गरेका छन् । प्रधानमन्त्रीले विपक्षी दल र नागरिकसँग मात्रै नभई आफ्नै मन्त्रिपरिषद्का सदस्यहरूसँग समेत प्रभावकारी समन्वय गर्न नसकेको उनको आरोप थियो ।

देशमा देखिएको असुरक्षा, अव्यवस्था र नागरिकको बढ्दो निराशा सरकारको लापरवाही तथा गैरजिम्मेवारीका कारण उत्पन्न भएको साम्पाङले दाबी गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २६, मंगलवार ०८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP