मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रेबिजबाट एक जनाको मृत्यु, खोप नलगाउँदा बढ्यो जोखिम

247
SHARES
रेबिजबाट एक जनाको मृत्यु, खोप नलगाउँदा बढ्यो जोखिम

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक ४८ वर्षीय पुरुषको रेबिज संक्रमणका कारण मृत्यु भएको छ । रेबिजका लक्षण देखिएपछि उपचारका लागि भर्ना गरिएका ती पुरुषको उपचारकै क्रममा निधन भएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती पुरुष असार ५ गते अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भोलिपल्ट नै उनको मृत्यु भएको उनले जानकारी दिए । प्रारम्भिक विवरणअनुसार उनले रेबिजविरुद्धको एण्टी–रेबिज भ्याक्सिन (एआरभी) खोप लगाएका थिएनन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार रेबिज एक अत्यन्त घातक भाइरल रोग हो, जुन प्रायः संक्रमित कुकुर, बिरालो वा अन्य जनावरको टोकाइबाट सर्छ । समयमै खोप लगाउन सके रेबिजबाट बच्न सकिने भए पनि लक्षण देखिइसकेपछि यसको उपचार सम्भव नहुने र मृत्युदर लगभग शतप्रतिशत हुने चिकित्सकहरू बताउँछन् ।

रेबिजका बिरामीमा सुरुमा ज्वरो, टाउको दुख्ने, शरीर कमजोर हुनेजस्ता सामान्य लक्षण देखिए पनि पछि रोगले स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउँछ । संक्रमण बढ्दै जाँदा घाँटी र श्वासनलीका मांसपेशीहरू खुम्चिने तथा कडा हुने समस्या देखिन्छ । यस कारण बिरामीले पानी पिउन खोज्दा वा पानी देख्दा पनि अत्यधिक पीडा महसुस गर्ने भएकाले ‘हाइड्रोफोबिया’ अर्थात् पानीको डर देखिने गर्छ ।

विशेषज्ञहरूका अनुसार संक्रमित जनावरले टोकेको वा चिथोरेको अवस्थामा घाउलाई तुरुन्त साबुनपानीले राम्ररी धुने र नजिकको स्वास्थ्य संस्थामा पुगेर एआरभी खोप लगाउने कार्यले ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । ढिलाइ वा बेवास्ताले भने रेबिज घातक बन्न सक्छ ।

स्वास्थ्य अधिकारीहरूले घरपालुवा जनावरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउन तथा जनावरको टोकाइपछि तत्काल स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । रेबिज रोकथामका लागि जनचेतना, समयमै खोप र सावधानी नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ८, सोमबार ०९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP