मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाको पहिलो महाधिवेशन आजदेखि, नयाँ संरचना र नेतृत्व चयनमा केन्द्रित

299
SHARES
रास्वपाको पहिलो महाधिवेशन आजदेखि, नयाँ संरचना र नेतृत्व चयनमा केन्द्रित

चितवन (भरतपुर) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । पार्टीले महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष झाले भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनका लागि व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत सबै तयारी सम्पन्न भएको जानकारी दिए ।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने कार्यक्रम तय गरिएको छ । देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको र विभिन्न प्रतिवेदन पनि तयार भइसकेको पार्टीले जनाएको छ ।

महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानमा महत्वपूर्ण संशोधन गर्दै केन्द्रीय समितिको आकार १२१ सदस्यबाट बढाएर १५१ सदस्यीय बनाउने निर्णय गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन् ।

विधान संशोधनसँगै पार्टीका विभिन्न पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था पनि गरिएको छ । अब उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमध्ये कम्तीमा एक–एक जना महिला अनिवार्य रहनेछन् ।

नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष रहनेछन् ।

पार्टीले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै १५१ केन्द्रीय सदस्यमध्ये ५१ जनालाई सभापतिबाट मनोनयन गर्ने प्रस्ताव अघि सारेको छ । बाँकी ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था पनि प्रस्तावित गरिएको छ ।

महाधिवेशनमा विधान संशोधन, संगठन सुदृढीकरण, भावी राजनीतिक कार्यदिशा तथा नयाँ नेतृत्व चयन प्रमुख एजेन्डाका रूपमा रहनेछन् । समसामयिक राजनीतिक विषय र नीतिगत प्रस्तावमाथि पनि व्यापक छलफल हुने बताइएको छ ।

यस महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ । पार्टीका अनुसार हालसम्म ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक प्रक्रिया टुंगिएको छ । छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि चयन भइसकेका छन् भने मधेस प्रदेश र निर्वाचन हुन बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

रास्वपाले आफ्नो सदस्य संख्या पाँच लाख पुगेको दाबी गर्दै पहिलो महाधिवेशनलाई पार्टीको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ७, आईतवार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP