मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इजरायली आक्रमणमा अल जजिराका पत्रकार अनस अल–शरीफसहित ६ जनाको हत्या

2.2K
SHARES
इजरायली आक्रमणमा अल जजिराका पत्रकार अनस अल–शरीफसहित ६ जनाको हत्या

गाजा । गाजा सहरमा आइतबार राति इजरायली हवाई आक्रमणमा ६ जना पत्रकारको ज्यान गएको छ, जसमा चारजना अल जजिराका पत्रकार रहेका छन् । मृतकमध्ये एक अनस अल–शरीफ हुन्, जसलाई इजरायली सेनाले हमासको समूहको नेतृत्व गरेको आरोप लगाउँदै लक्षित रूपमा हत्या गरेको दाबी गरेको छ । अल जजिराका अर्का प्रमुख पत्रकार मोहम्मद क्रेके पनि सोही आक्रमणमा मारिएका छन् ।

अल–शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाका अनुसार, अल–शरीफलगायतका पत्रकारहरू अस्पतालको प्रवेशद्वार नजिकैको टेन्टमा रहेका बेला आक्रमण भएको हो । सो घटनामा कम्तीमा सात जनाको मृत्यु भएको बताइएको छ ।

हत्या हुनु केही मिनेटअघि अल–शरीफले सामाजिक सञ्जालमा लेखेका थिए— “यदि यो पागलपन रोकिएन भने, गाजा भग्नावशेषमा बदलिनेछ, यहाँका जनताको आवाज मेटिनेछ र इतिहासले तपाईंहरूलाई नरसंहारका मौन साक्षीको रूपमा सम्झिनेछ ।”

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले अल–शरीफलाई हमाससँग सम्बन्धित भन्दै, इजरायली नागरिक र सैनिकमाथि रकेट आक्रमण गराएको आरोप लगाएको छ । यसअघि पनि आईडीएफले उनको हमाससँगको सैन्य सम्बन्धका प्रमाण भएको दाबी गर्दै गुप्त दस्तावेज सार्वजनिक गरेको थियो । तर गत महिनामा अल–शरीफले सामाजिक सञ्जालमार्फत आफू कुनै राजनीतिक दल वा समूहसँग सम्बन्धित नभएको र आफ्नो एक मात्र लक्ष्य गाजाबाट बिनापक्षपाती रिपोर्टिङ गर्नु रहेको स्पष्ट पारेका थिए ।

पत्रकारहरूको सुरक्षा समिति (सीपीजे) ले जुलाईमै अल–शरीफको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गरेको थियो । संयुक्त राष्ट्रसंघका अभिव्यक्ति स्वतन्त्रताका विशेष प्रतिवेदक आइरिन खानले पनि दुई हप्ता अघि इजरायलको आरोपलाई निराधार भन्दै उनलाई लक्षित धम्कीबारे चेतावनी दिएकी थिइन् । युद्ध सुरु भएदेखि करिब दुई वर्षमा गाजामा १८६ पत्रकारको मृत्यु भइसकेको छ ।

अन्तिम सन्देशमा, विवाहित र दुई सन्तानका पिता अल–शरीफले लेखेका थिए— “तपाईंहरूको आवाज कहिल्यै नरोकिन, सीमाले बाटो नछेकुन् र भूमि तथा जनताको मुक्तिको लागि निरन्तर प्रयास जारी रहोस्, जबसम्म हाम्रो मातृभूमिमा स्वतन्त्रताको घाम उदाउँदैन ।”

इजरायली राजनीतिक विश्लेषक ओरी गोल्डबर्गले यो घटनालाई ‘लक्षित हत्या’ र ‘पत्रकारविरुद्धको योजनाबद्ध आक्रमण’ भन्दै निन्दा गरेका छन् । उनका अनुसार, गाजाको युद्धबारे अन्तर्राष्ट्रिय समुदायमा सूचनाको प्रवाह रोक्नकै लागि यो कदम चालिएको हो । उनले विश्वभरका पत्रकारलाई पेशागत एकताको भावना देखाउँदै इजरायललाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP