मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रेकर्डपछि एकैदिन ठूलो झड्का: सुन तोलामा २० हजार ५ सयले घट्यो, चाँदी पनि ओरालो

1.1K
SHARES
रेकर्डपछि एकैदिन ठूलो झड्का: सुन तोलामा २० हजार ५ सयले घट्यो, चाँदी पनि ओरालो

काठमाडौं । लगातार नयाँ कीर्तिमान बनाउँदै आएको नेपाली बजारको सुनचाँदीको मूल्यमा आज एकाएक व्यापक गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ घटेको हो, जुन हालसम्मकै सबैभन्दा ठूलो एकदिने गिरावट मानिएको छ ।

मूल्य घटेसँगै आज छापावाल सुन तोलाको तीन लाख १८ हजार आठसय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य थियो । हिजो जति बढेको थियो, आज ठीक त्यत्तिकै रकमले सुनको मूल्य घटेको हो ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला नौ हजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो । गएको एक साताको अवधिमा सुनको भाउ कुल ५७ हजार पाँचसय रुपैयाँले बढेपछि आज ठूलो गिरावट आएको हो ।

महासंघका अनुसार गएको मंगलबार सुन तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो । त्यसअघि सोमबार पाँच हजार दुईसय, आइतबार दुई हजार चारसय र शुक्रबार नौ हजार दुईसय रुपैयाँले सुनको भाउ बढेको थियो । अघिल्लो साताको बुधबार एकैदिन १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा दुई हजार नौसय रुपैयाँ घटेको थियो । त्यसयता निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य आज एकाएक ओरालो लागेको हो ।

आज चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ । चाँदी तोलामा ४४० रुपैयाँ घटेर सात हजार ६५ रुपैयाँमा झरेको छ । हिजो मात्रै चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार ५३७ अमेरिकी डलर र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १६, शुक्रबार ०६:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP