मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्यातको बलमा चीनको अर्थतन्त्र पाँच प्रतिशतले बढ्यो

1K
SHARES
निर्यातको बलमा चीनको अर्थतन्त्र पाँच प्रतिशतले बढ्यो

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका आयात करहरूको दबाबका बाबजुद चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक ५ प्रतिशतले विस्तार भएको छ । बलियो निर्यातले अर्थतन्त्रलाई धाने पनि वर्षको अन्तिम त्रैमासिकमा भने वृद्धिदर घटेर ४.५ प्रतिशतमा सीमित भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो सन् २०२२ को अन्त्ययताकै सबैभन्दा कमजोर त्रैमासिक वृद्धि हो । त्यसअघिको तेस्रो त्रैमासिकमा अर्थतन्त्र ४.८ प्रतिशतले बढेको थियो । यद्यपि वार्षिक वृद्धिदर भने सरकारले निर्धारण गरेको ‘करिब ५ प्रतिशत’ लक्ष्यसँग मेल खान्छ ।

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा अर्थतन्त्र १.२ प्रतिशतले बढेको छ । यस समयमा निर्यात उल्लेख्य रूपमा बढ्दा कमजोर उपभोक्ता खर्च र सुस्त व्यापारिक लगानीको असर केही हदसम्म कम भएको देखिन्छ । यही कारण चीनले करिब १२ खर्ब अमेरिकी डलरको रेकर्ड व्यापार अधिशेष कायम गर्न सफल भएको सरकारी आँकडामा उल्लेख छ ।

तर रियल स्टेट क्षेत्रको दीर्घकालीन मन्दी र महामारीपछिको संरचनागत समस्याले अर्थतन्त्रमा दबाब कायम नै छ । ट्रम्प पुनः सत्तामा फर्किएपछि अमेरिकाले चीनमाथि भन्सार शुल्क बढाउँदा अमेरिका–केन्द्रित निर्यात घटेको छ । तथ्याङ्कअनुसार गत वर्ष अमेरिकातर्फको निर्यात झन्डै २० प्रतिशतले घटेको छ, यद्यपि अन्य देशतर्फको ढुवानी बढेकाले समग्र निर्यातमा ठूलो गिरावट आएको छैन ।

चीनबाट बढ्दो आयातका कारण केही देशहरूले आफ्ना घरेलु उद्योग जोगाउन शुल्क बढाउने तयारी गरिरहेका छन् । यस्तो अवस्थाबीच ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्धमा अस्थायी युद्धविराम लम्ब्याउने सहमतिले निर्यातमाथिको दबाब तत्कालका लागि केही कम गरेको विश्लेषकहरू बताउँछन् ।

डच बैंक आइएनजीका ग्रेटर चीनका प्रमुख अर्थशास्त्री लिन सङका अनुसार चीनको अहिलेको मुख्य चुनौती भनेकै निर्यातमा आधारित वृद्धिको इन्जिन कति समयसम्म टिक्छ भन्ने हो । उनले थप अर्थतन्त्रहरूले चीनमाथि कर कडाइ गरेमा त्यसको दीर्घकालीन असर गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

सरकारले घरेलु माग बढाउन विभिन्न नीतिगत उपाय अघि सारे पनि तिनको प्रभाव अपेक्षाकृत सीमित देखिएको छ । पुराना सवारीसाधन साटेर ऊर्जा–दक्ष गाडी खरिद गर्ने योजना र घरेलु उपकरणमा दिइएका सब्सिडीहरूले उपभोगमा ठूलो उछाल ल्याउन सकेका छैनन् । बिएनपी परिबास एसेट म्यानेजमेन्टका वरिष्ठ रणनीतिकार ची लोका अनुसार सम्पत्ति बजार स्थिर नहुँदासम्म उपभोक्ता विश्वास र निजी लगानी पुनःउत्थान हुन कठिन छ ।

यसैबीच, कृत्रिम बौद्धिकता (एआई) र उन्नत प्रविधिमा लगानी चिनियाँ नेतृत्वको प्रमुख प्राथमिकता बनेको छ । तर सामान्य नागरिक र साना व्यवसायहरू रोजगारी र आम्दानीको अनिश्चितताबाट प्रभावित छन् । गुइझोउ प्रान्तका नुडल रेस्टुरेन्ट सञ्चालक लिउ फेङ्ग्युनले अहिले आम्दानी घटेको र ग्राहकहरू खर्च कटौती गर्न थालेको गुनासो गरेका छन् ।

सरकारी पक्ष भने अर्थतन्त्रले चुनौतीका बाबजुद स्थिर प्रगति कायम राखेको दाबी गर्छ । नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सका प्रमुख काङ् यीले जोखिम सामना गर्न चीनसँग पर्याप्त आधार रहेको बताए । तर केही स्वतन्त्र विश्लेषकहरूले वास्तविक वृद्धि आधिकारिक तथ्याङ्कभन्दा कम हुन सक्ने अनुमान गरेका छन् । रोडियम ग्रुपले गत वर्षको वृद्धि २.५ देखि ३ प्रतिशतको दायरामा मात्र रहेको आँकलन गरेको थियो ।

विश्लेषकहरूका अनुसार सामाजिक स्थिरता कायम राख्न निरन्तर आर्थिक वृद्धि चीनका नेताहरूको मुख्य प्राथमिकता हो । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका फेलो नील थोमसका अनुसार सन् २०३५ सम्म प्रतिव्यक्ति २० हजार अमेरिकी डलर जीडीपीको लक्ष्य पूरा गर्न चीनले दीर्घकालसम्म ४ देखि ५ प्रतिशत वार्षिक वृद्धि दर जोगाइराख्नुपर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ५, सोमबार १२:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP