मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिका–इरान शान्ति सम्झौतामा सहमति, होर्मुज खुल्ने र नाकाबन्दी हट्ने दाबी

91
SHARES
अमेरिका–इरान शान्ति सम्झौतामा सहमति, होर्मुज खुल्ने र नाकाबन्दी हट्ने दाबी

काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा सहमति भएको दाबी गरिएको छ । दुवै देशबीच भएको भनिएको सहमतिअनुसार सैन्य गतिविधि रोक्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने तथा रणनीतिक समुद्री मार्ग स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याइने बताइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आइतबार सामाजिक सञ्जालमार्फत अमेरिका र इरान शान्ति प्रक्रियामा सहमत भएको जानकारी दिएका हुन् । उनका अनुसार आगामी जुन १९ मा स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर समारोह आयोजना गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री शरीफले आफ्नो देशले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको उल्लेख गर्दै द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयास सफल भएको दाबी गरेका छन् । उनले यस प्रक्रियामा कतार, साउदी अरब र टर्कीले समेत महत्वपूर्ण सहयोग गरेको बताए ।

यस घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता टुंगोमा पुगेको संकेत दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानसँगको सम्झौता सम्पन्न भएको उल्लेख गरेका हुन् ।

यता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सम्झौताको पुष्टि गरेको बताइएको छ । परिषद्को वक्तव्यअनुसार लेबनानसहित विभिन्न मोर्चामा जारी सैन्य गतिविधि तत्काल रोक्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने सहमति भएको जनाइएको छ ।

सहमति कार्यान्वयनअघि यसै साता विभिन्न प्राविधिक र कूटनीतिक बैठकहरू आयोजना गरिने बताइएको छ । यी बैठकहरूले औपचारिक हस्ताक्षर र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ ।

यदि सम्झौता प्रभावकारी रूपमा कार्यान्वयनमा आयो भने विश्व ऊर्जा बजारमा समेत यसको सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । विशेषगरी, विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा आएमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न सक्ने अपेक्षा गरिएको छ ।

गत फेब्रुअरी अन्तिम सातातिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको थियो । त्यसपछि समुद्री ढुवानी प्रभावित हुँदा विश्व बजारमा तेलको मूल्यसमेत बढेको थियो । सम्भावित शान्ति सम्झौताले उक्त तनाव कम गर्दै क्षेत्रीय स्थायित्वमा नयाँ आशा जगाएको विश्लेषण गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १, सोमबार ०१:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP