मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठमेलमा विदेशी महिलाको यौनधन्दा: दुई महिनामा ४१ जना पक्राउ

403
SHARES
ठमेलमा विदेशी महिलाको यौनधन्दा: दुई महिनामा ४१ जना पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलबाट प्रहरीले सोमबार पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये चार जना युगाण्डाका र एक जना केन्याकी महिला हुन् । उनीहरू ठमेल क्षेत्रमा यौनधन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार विदेशी महिलाहरू पर्यटक भिसामा नेपाल आएर ठमेललाई आधार क्षेत्र बनाउँदै रातको समयमा यौनकर्मीका रूपमा सक्रिय रहेको सूचना पाएपछि निगरानी बढाइएको थियो । अनुसन्धानका क्रममा सडकमै ग्राहकसँग मोलमोलाइ गर्ने र यौन सेवाका लागि प्रस्ताव राख्ने गतिविधि देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार स्वदेशी तथा विदेशी पर्यटकको अत्यधिक चहलपहल हुने ठमेल क्षेत्रमा पछिल्लो समय यस्ता गतिविधि बढ्दो क्रममा देखिएको छ । विशेषगरी रात्रीकालीन व्यवसायलाई लक्षित गर्दै विदेशी महिलाहरू खुलेआम ग्राहक खोज्ने गरेको प्रहरीको भनाइ छ ।

केही दिनअघिमात्रै पनि पक्राउ
यसअघि जेठ ८ गते पनि ठमेलबाट सात विदेशी महिला पक्राउ परेका थिए । ती सबै युगाण्डाका नागरिक रहेको प्रहरीले जनाएको थियो । उनीहरूले सडकमा पर्यटकलाई रोक्ने, अनावश्यक हैरानी दिने तथा यौनधन्दाका लागि पैसाको बार्गेनिङ गर्ने गरेको आरोप थियो ।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिएपछि केहीलाई धरौटीमा रिहा गरिएको र पछि अध्यागमन विभागमार्फत डिपोर्ट गरिएको थियो ।

दुई महिनामा ४१ विदेशी महिला पक्राउ
काठमाडौं प्रहरीले ‘सुरक्षित काठमाडौं अभियान’ अन्तर्गत अवैध तथा अनैतिक गतिविधिविरुद्ध निगरानी तीव्र बनाएको जनाएको छ । प्रहरीका अनुसार पछिल्ला दुई महिनामा मात्रै चार वटा अपरेशनमार्फत ४१ विदेशी महिला पक्राउ परिसकेका छन् ।

यसअघि चैत ११ गते ठमेलको फायरचोक क्षेत्रबाट २० विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको थियो । सार्वजनिक स्थानमै यौनधन्दाको बार्गेनिङ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

२३ देखि ४५ वर्ष उमेर समूह
प्रहरीले पक्राउ परेका अधिकांश विदेशी महिलाको उमेर २३ देखि ४५ वर्षबीच रहेको जनाएको छ । विशेषगरी ३० वर्ष आसपासका महिलाहरू बढी संलग्न देखिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरू पर्यटक भिसामा नेपाल आउने, भिसा अवधिभर काठमाडौंमा बसेर यौनधन्दाबाट रकम कमाउने र त्यसपछि स्वदेश फर्कने गरेको पाइएको छ ।

प्रहरीले जेनजी आन्दोलनपछि राजधानीमा चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने आकलन गर्दै ठमेललगायत संवेदनशील क्षेत्रमा रात्री गस्ती र निगरानी थप कडा बनाइएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ११, सोमबार १३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP