मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकाविरुद्ध नेपालको चुनौती, पहिलो जितको खोजीमा घरेलु टोली

611
SHARES
अमेरिकाविरुद्ध नेपालको चुनौती, पहिलो जितको खोजीमा घरेलु टोली

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

सिरिजमा दुबै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिन लागेका हुन् । नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस मेथडमा २ रनको झिनो हार बेहोरेको थियो । उता अमेरिकाले पनि स्कटल्यान्डसँग समान अन्तरले पराजय भोगेको थियो । त्यसैले शनिबारको खेल दुवै टोलीका लागि पुनरागमनको अवसरका रूपमा हेरिएको छ ।

घरेलु मैदानमा अन्तिम लिग–२ सिरिज खेलिरहेको नेपालका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण मानिएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता जोगाइराख्न नेपाललाई शीर्ष ६ भित्र रहनैपर्ने दबाब छ । शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट खेल्ने अवसर पाउने भएकाले नेपाल कम्तीमा छैटौँ स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।

प्लेइङ–११ मा परिवर्तनको संकेत
अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीमा केही परिवर्तन हुन सक्ने सम्भावना देखिएको छ । मुख्य प्रशिक्षक स्टुआर्ट लले विनोद भण्डारी र अर्जुन कुमाललाई विश्राम दिन सक्ने चर्चा छ । उनीहरूको स्थानमा कुशल भुर्तेल र युवा ब्याटर ईशान पाण्डे मैदानमा देखिन सक्ने अनुमान गरिएको छ ।

यदि अवसर पाए ईशान पाण्डेले नेपालका लागि आफ्नो पहिलो ओडीआई खेल खेल्नेछन् । घरेलु समर्थकमाझ डेब्यु गर्ने सम्भावनाले उनको चर्चा बढेको छ ।

बलिङ मजबुत, ब्याटिङमा सुधार आवश्यक
स्कटल्यान्डविरुद्धको खेलमा नेपालको बलिङ प्रदर्शन प्रभावशाली देखिएको थियो । करण केसी, सोमपाल कामी र सन्दीप लामिछानेले विपक्षीलाई दबाबमा राखेका थिए । तर ब्याटिङतर्फ शीर्षक्रमका खेलाडी जिम्मेवार बन्न नसक्दा नेपाल हार टार्न असफल भयो ।

विशेषगरी मध्यक्रमले लामो साझेदारी बनाउन नसक्नु टोलीको कमजोरीका रूपमा देखिएको छ । अमेरिकाविरुद्ध नेपालले सुरुआती विकेट जोगाउँदै ठूलो साझेदारी निर्माण गर्नुपर्ने दबाब हुनेछ ।

अमेरिका पछिल्ला भेटमा हावी
नेपाल र अमेरिकाबीच पछिल्ला केही भेटमा अमेरिका बलियो देखिएको छ । दुई टोलीबीच सन् २०२५ नोभेम्बरमा यूएईमा भएको लिग–२ खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

नेपालले अमेरिकामाथि अन्तिम जित सन् २०२३ मा दर्ता गरेको थियो । त्यसपछि भएका चार भेटमा भने अमेरिका विजयी बनेको छ । यही कारण आजको खेल नेपालका लागि बदला लिने अवसरसमेत बन्न सक्छ ।

अंक तालिकामा नेपालको अवस्था कमजोर
हाल लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले २५ खेलबाट ८ जित, १५ हार र २ खेलमा अंक बाँड्दै १८ अंक जोडेको छ ।

स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा छ भने अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ । ओमान, नेदरल्यान्ड, नामिबिया र क्यानडा क्रमशः तेस्रोदेखि छैटौँ स्थानमा छन् । यूएई भने तालिकाको पुछारमा छ ।

नेपालका लागि अबका प्रत्येक खेल ‘गर या मर’को अवस्थामा पुगेका छन् । घरेलु समर्थकको साथ र परिचित मैदानको फाइदा उठाउँदै अमेरिकाविरुद्ध जित निकाल्न सके नेपाललाई शीर्ष ६ को दौडमा ठूलो राहत मिल्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २, शनिबार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP