मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश यात्रामा हुने अनियमितता रोक्न अध्यागमन विभागको सात बुँदे निर्देशन

1.7K
SHARES
विदेश यात्रामा हुने अनियमितता रोक्न अध्यागमन विभागको सात बुँदे निर्देशन

काठमाडौं । अध्यागमन विभागले विदेश यात्रा प्रक्रियामा हुने अनियमितता, दलाली, टिकट ओभरबुकिङ र ठगीजस्ता गतिविधि रोक्न कडा निर्देशन जारी गरेको छ । विभागले आइतबार पत्रकार सम्मेलनमार्फत विमान कम्पनीदेखि ट्राभल एजेन्सी, स्थानीय प्रशासन र अन्य सरोकारवालाहरूलाई सातवटा बुँदामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

विमान कम्पनीका लागि निर्देश

विभागले विमान कम्पनीहरूलाई यात्रुको सुरक्षा, राहदानी, भिसा र टिकटसम्बन्धी अध्यागमन प्रक्रियामा अनावश्यक दबाब नदिन निर्देशन दिएको छ । ओभरबुकिङ, टिकट काटेर पनि यात्रुलाई चढ्न नदिने, वा अन्तिम समयमा यात्रु अफलोड गर्ने गतिविधि पूर्णरूपमा बन्द गर्न भनिएको छ। टिकट वा चेक–इनमा समस्या आएमा तत्काल विभागलाई जानकारी दिनुपर्ने पनि उल्लेख छ ।

स्थानीय प्रशासनको जिम्मेवारी

विशेष विदेश यात्रा गर्न चाहने नागरिकहरूको विवरण संकलन गरी विभागमा पठाउन स्थानीय प्रशासनलाई अनुरोध गरिएको छ । शंकास्पद गतिविधि गर्ने व्यक्तिको विवरण तुरुन्त उपलब्ध गराउने व्यवस्था पनि आवश्यक छ ।

सञ्चारमाध्यमको भूमिका

सञ्चारमाध्यममार्फत् विदेश यात्रासम्बन्धी अनियमितता र ठगीबारे नागरिकलाई सचेत गराउन र सही जानकारी प्रवाह गर्न विभागले आग्रह गरेको छ।

कूटनीतिक नियोगको निर्देशन

कूटनीतिक नियोगहरूले आफ्नो कार्यक्षेत्र भित्र रहेका नेपालीहरूको यात्रा, सुरक्षा र काममा विशेष ध्यान दिनुपर्ने र नियमित रूपमा विभागमा रिपोर्ट पठाउनुपर्ने भनिएको छ ।

ट्राभल एजेन्सी र टुर कम्पनीलाई चेतावनी

पर्यटक भिसामा विदेश पठाउने क्रममा हुने ठगी, जबर्जस्ती टिकट बिक्री र ओभरबुकिङ जस्ता गतिविधि रोक्न कम्पनीहरूलाई चेतावनी दिइएको छ । यात्रु अफलोड गर्ने, भ्रामक योजना ल्याउने वा उडान भइसकेपछि मात्र टिकट वितरण गर्ने कार्य तत्काल बन्द गर्न भनिएको छ ।

मुद्रा सटही गर्ने संस्थाको नियन्त्रण

विदेश पठाउने नाममा हुने गैरकानुनी सटही र अवैध कारोबार रोक्न र प्रमाणित कारोबार मात्र गर्न निर्देशन दिइएको छ ।

यात्रुको सुरक्षा सुनिश्चित गर्ने

अध्यागमन विभागले यात्रु फसाउने, दलालको सिकार बनाउने, होटलमा थुन्ने वा जबर्जस्ती टिकट बेच्ने घटना रोक्न सुरक्षासम्बन्धी संयन्त्रलाई सतर्क रहन अनुरोध गरेको छ । शंकास्पद गतिविधि देखिएमा तुरुन्तै विभाग वा सम्बन्धित निकायलाई जानकारी दिन पनि भनिएको छ ।

साथै, विभागले नागरिक एपमार्फत् अन्तिम तयारी नगरेसम्म विदेश यात्रा नगर्न समेत चेतावनी जारी गरेको छ । सम्पर्कका लागि विभिन्न अधिकृतहरूको फोन नम्बर समेत सार्वजनिक गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP