मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक सम्पन्न, लगानी र व्यापार विस्तारमा जोड

533
SHARES
नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक सम्पन्न, लगानी र व्यापार विस्तारमा जोड

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंको चन्द्रागिरीमा सम्पन्न भएको छ । बैठकले दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता भएको थियो । सोही समझदारीअनुसार परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, सहकार्य र प्रत्यक्ष व्यावसायिक संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो ।

बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, व्यवसाय–देखि–व्यवसाय (बीटुबी) सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा छलफल गरेका थिए । सहभागीहरूले नेपाल–कतार आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली पक्षले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनमा सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि क्षेत्रमा कतारी लगानीका लागि आग्रह गरेको थियो । साथै नेपाली व्यवसायीहरूलाई कतारमा सेवा क्षेत्र, पर्यटनसम्बद्ध उद्योग, सीप विकास तथा साना–मझौला उद्यममा अवसर खोज्न आग्रह गरिएको थियो ।

कतारी प्रतिनिधिमण्डलले नेपालमा लगानीको वातावरणप्रति सकारात्मक धारणा व्यक्त गर्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाएको छ । उनीहरूले नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त व्यवसाय परिषद्को बैठकले नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क विस्तारमा महासंघ प्रतिबद्ध रहेको उनले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधिमण्डल प्रमुख मोहद अहमद एम।ए। अलोबैदेलीले स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण सुनिश्चित भए कतारी लगानीकर्ताहरू नेपालमा दीर्घकालीन लगानी गर्न तयार रहेको धारणा राखे ।

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले परिषद्लाई नेपाल–कतारबीच दीर्घकालीन आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा विकास गर्नुपर्ने बताए । पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको उनको भनाइ थियो ।

नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्णसँग भेटवार्ता गरेको थियो । भेटमा लगानी प्रवर्द्धन, व्यापार विस्तार, हवाई कनेक्टिभिटी र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

संयुक्त व्यवसाय परिषद्को पहिलो बैठकले नेपाल–कतार आर्थिक सम्बन्धलाई संस्थागत आधार प्रदान गर्दै आगामी दिनमा व्यापार, लगानी र निजी क्षेत्रको साझेदारी थप विस्तार हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २८, बुधबार १३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP