मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इङल्यान्डविरुद्ध खेल्दै नेपालले आज टी–२० विश्वकपको सुरुवात गर्दै

2K
SHARES
इङल्यान्डविरुद्ध खेल्दै नेपालले आज टी–२० विश्वकपको सुरुवात गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) १०औँ संस्करणको आइसीसी टी–२० पुरुष विश्वकपको आफ्नो अभियान सुरु गर्दैछ । दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध नेपाल भारस्थित मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा मैदान उत्रन लागेको हो । खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

यस विश्वकपमा नेपाल समूह चरणका आफ्ना चारै खेल वानखेडे स्टेडियममै खेल्नेछ । समग्रमा नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो भने यो लगातार दोस्रो सहभागिता हो । बलिया राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउँदा नेपाली टोली उत्साहित देखिएको छ ।

यसपटकको विश्वकपमा नेपालका लागि १० जना अघिल्लो संस्करणका खेलाडी र केही नयाँ अनुहारले प्रतिनिधित्व गर्दैछन् । आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादवले विश्वकपमा डेब्यु गर्ने तयारी गरेका छन् । उनीहरूबाट टोलीले नयाँ ऊर्जा र प्रदर्शनको अपेक्षा गरेको छ ।

वरिष्ठ अलराउन्डर सोमपाल कामी भने नेपालले खेलेका तीनवटै विश्वकपमा सहभागिता जनाउने एक्ला खेलाडी बन्ने संघारमा छन् । कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् ।

इङल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीले शनिबार पूरा आराम पाएको थियो । विश्वकप तयारीका क्रममा नेपालले युएई र क्यानडासँग खेलेका दुवै आधिकारिक वार्मअप खेलमा जित हात पारेको थियो । श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको छ ।

सन् २०१० र २०२२ मा विश्वकपको उपाधि जितेको इङल्यान्ड नेपालविरुद्ध जित निकाल्दै प्रतियोगिताको सुरुवात सुखद बनाउने लक्ष्यमा छ । इङल्यान्डले शनिबार नै नेपालविरुद्धको खेलका लागि आफ्नो प्लेइङ–११ सार्वजनिक गरिसकेको छ ।

नेपाल रहेको समूहमा इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटाली छन् । इङल्यान्ड र वेष्ट इण्डिज दुवैले दुई–दुई पटक विश्वकपको ट्रफी उचालेका छन् भने इटालीले यस संस्करणबाट विश्वकपमा डेब्यु गर्दैछ ।

स्कटल्यान्ड भने सन् २०१६ यता लगातार विश्वकप खेल्दै आएको टोली हो । बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न अस्वीकार गरेपछि आइसीसीले वरियताका आधारमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराएको हो ।

विश्वकपमा आज (आइतबार) तीन खेल हुनेछन् । दिनको पहिलो खेलमा चेन्नइमा समूह ‘डी’ का अफगानिस्तान र न्युजिल्यान्ड भिड्नेछन् भने कोलोम्बोमा घरेलु टोली श्रीलंका र आयरल्यान्ड आमनेसामने हुने तालिका छ ।

विश्वकपको पहिलो दिन हिजो (शनिबार) तीन खेल सम्पन्न भएका छन् । कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो । इडेन गार्डेनमा वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्दा वानखेडेमा साविक विजेता भारतले अमेरिकामाथि २९ रनको जित निकाल्यो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २५, आईतवार ०१:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP