मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ महिला उम्मेदवारको वर्चस्व

1.9K
SHARES
प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ महिला उम्मेदवारको वर्चस्व

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको अन्तिम बन्दसूचीमा महिलाको सहभागिता पुरुषको तुलनामा उल्लेख्य रूपमा बढी देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ महिला उम्मेदवारको संख्या पुरुषभन्दा धेरै रहेको हो ।

आयोगका अनुसार अन्तिम बन्दसूचीमा कुल १,७७२ जना महिला उम्मेदवार समावेश भएका छन् भने पुरुष उम्मेदवारको संख्या १,३६३ रहेको छ । यसरी कुल ३,१३५ जना उम्मेदवारको अन्तिम नामावली कायम भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीमा यसपटक ६३ राजनीतिक दल सहभागी भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम बन्दसूची प्रकाशन गरेको हो । यस निर्वाचनका लागि आयोगले ५७ वटा निर्वाचन चिन्ह पनि कायम गरेको छ ।

तर, सबै पेस गरिएका नामहरू अन्तिम सूचीमा अटाउन सकेनन् । आयोगले विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । हटाइएकामध्ये २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्ति हुन् भने २५ जनाको नाम प्रदेशसभा समानुपातिकतर्फको बन्दसूचीमा समेत रहेकाले हटाइएको आयोगले स्पष्ट पारेको छ ।

यस्तै, तोकिएको जरिवाना नतिरेका १० जना, मतदाता नामावलीमा सम्बन्धित पिछडिएको क्षेत्रमा नपरेका एक जना तथा सम्बन्धित राजनीतिक दलकै आग्रहमा हटाइएका १० जनाको नाम पनि अन्तिम सूचीमा समावेश गरिएको छैन ।

महिला उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढ्नुले समानुपातिक प्रणालीमार्फत समावेशी प्रतिनिधित्वको अभ्यासलाई थप बल पुगेको विश्लेषकहरूको भनाइ छ । आगामी निर्वाचनपछि संसदमा महिलाको उपस्थिति अझ सशक्त हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २१, बुधबार ०१:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP