मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अस्पताल भवन निर्माणमा ढिलाइप्रति मन्त्री घिसिङ असन्तुष्ट

2K
SHARES
अस्पताल भवन निर्माणमा ढिलाइप्रति मन्त्री घिसिङ असन्तुष्ट

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।

आइतबार निर्माणस्थलको अनुगमन गर्दै मन्त्री घिसिङले अस्पताल भवन निर्माणमा भइरहेको लामो ढिलाइप्रति गम्भीर चासो व्यक्त गरे । निरीक्षणका क्रममा उनले महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति तथा निर्माण व्यवसायीसँग निर्माणको प्रगति, समयतालिका र समस्याबारे छलफल गरेका थिए ।

जनताको प्रत्यक्ष स्वास्थ्य सेवासँग जोडिएको संवेदनशील संरचनाको निर्माणमा यसरी ढिलाइ हुनु अस्वीकार्य रहेको बताउँदै मन्त्री घिसिङले अब यथास्थितिमा राखेर निर्माणलाई बन्धक बनाउन नदिइने स्पष्ट पारे । उनले तत्काल काम अघि नबढे ठेक्का तोडेर निर्माण व्यवसायीमाथि कारबाही गरिने चेतावनी समेत दिए ।

मन्त्री घिसिङले एक साताभित्र निर्माणले स्पष्ट गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।

उता, प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भवन अभावकै कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै तत्काल निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । निर्माण गर्न नसक्ने अवस्था आए ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । माघ २०७७ मा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । तेस्रो पटक थप गरिएको समयावधि पनि गत साउनमै सकिएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत संघीय शहरी भवन कार्यालय पोखराले उक्त भवन कर बाहेक १० करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिरहेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार ०६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP