मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुंगा एमालेमा प्रतिनिधि विवाद अन्ततः समाधान, १२ सदस्यीय टोली सर्वसम्मत

2.1K
SHARES
ओखलढुंगा एमालेमा प्रतिनिधि विवाद अन्ततः समाधान, १२ सदस्यीय टोली सर्वसम्मत

काठमान्डु । नेकपा एमाले ओखलढुंगामा महाधिवेशन प्रतिनिधि चयनका क्रममा उत्पन्न विवाद अन्ततः समाधान भएको छ । लामो समयदेखि चलिरहेको नेताहरूबीचको मतभेद अन्त्य गर्दै कोशी प्रदेश इन्चार्ज शेरधन राई र संगठन विभाग सदस्य विशाल भट्टराईको सक्रियतामा १२ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरिएको हो ।

एकपक्षीय घोषणा बदर, नयाँ कार्यदलमार्फत सहमति खोजियो
यसअघि एकतर्फी ढंगले प्रतिनिधि घोषणा भएपछि त्यसलाई बदर गर्दै केन्द्रीय संगठन विभागले पाँच दिनभित्र पालिकास्तरमै निर्वाचन गराउन वा सहमति कायम गर्न निर्देशन दिएको थियो । सोही उद्देश्यले राई, भट्टराई, जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारी समावेश कार्यदललाई जिम्मेवारी दिएको थियो ।

कार्यदलले निरन्तरको छलफल र समन्वयपछि दुवै पक्षलाई समेट्ने प्रयासलाई तीव्र बनाएको थियो । प्रतिनिधि चयन प्रक्रियामा असन्तुष्ट समूहले मंसिर १३ गतेको कार्यक्रम बहिष्कार गरेपछि परिस्थिति थप जटिल बनेको थियो । अन्ततः ती समूहलाई चार प्रतिनिधि समावेश गराएर सहमति गरिएको स्रोतले जनाएको छ ।

चार असन्तुष्ट पक्षका प्रतिनिधि पनि समावेश
सहमतिको भागस्वरूप पूर्व जिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारी महाधिवेशन प्रतिनिधिमा पर्न सफल भएका छन् ।

यसबाहेक, पहिल्यै घोषित सूचीबाटै जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे प्रतिनिधिमा पुष्टि गरिएको छ ।

काठमान्डुमा दिनभर छलफल, अन्तिम नामावली पठाइयो
आइतबार दिनभर काठमान्डुमा नेताहरूबीच पटक–पटक वार्ता चलेको थियो । उपसचिव अस्मिता थापाबाहेक अन्य सबै पदाधिकारी एउटै प्यानलमा रहेकाले निर्वाचन समिति गठनदेखि नै असन्तुष्टि सिर्जना भएको थियो ।

अन्ततः सहमति बनेपछि प्रतिनिधिहरूको नामावली कोशी प्रदेश इन्चार्ज शेरधन राईमार्फत संगठन विभागमा पठाइएको सहजकर्ता विशाल भट्टराईले जनाए ।

योसँगै, लामो समयदेखिको विवाद समाप्त हुँदै ओखलढुंगामा महाधिवेशन तयारी सहज र सुदृढ बनेको नेतृत्वको दाबी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २२, सोमबार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP