मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक, चेलीबेटीका कथा फेरि स्वरमा

2.9K
SHARES
विष्णु माझीको ‘म त नराउरी’ सार्वजनिक, चेलीबेटीका कथा फेरि स्वरमा

काठमाडौं । लोकगायिका विष्णु माझीले आफ्नो नयाँ गीत ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक गरेकी छन् । सधैंझैँ यसपटक पनि उनले आफ्नै मौलिक स्वर र हृदयस्पर्शी भावनासहित नेपाली समाजका गहिरा संवेदनालाई गीतमार्फत उतारेकी छन् ।

वर्षौंदेखि माझीको सिर्जनाले केवल नाचगानको मनोरञ्जन मात्र होइन, समाजमा ओझेलमा परेका चेलीबेटीका कथा, पीडा र भावनालाई उजागर गर्दै आएको छ। ‘म त नराउरी’ पनि यही परम्पराको निरन्तरता हो— जहाँ एक चेली बिदाइको बेलामा आँसु पुछ्दै “म त रुन्नँ” भन्छिन्, तर भित्रभित्रै संघर्ष र पीडाको भारी बोकेकी हुन्छिन् ।

गीतको भिडियोमा दर्शकले भावनात्मक गहिराइ मात्र होइन, दृश्यात्मक भव्यतासमेत अनुभव गर्न सक्छन् । गत वर्षको चर्चित गीत ‘आइनँ आमा यो तीजमा’ मा आफ्नो अभिनयकला देखाएकी मोडल ललिता पौडेल यसपटक पनि मुख्य पात्रको रूपमा देखिएकी छन् । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकार एकै पटक रंगीन वेशभूषामा नाचेका दृश्यहरूले भिडियोमा विशेष आकर्षण थपेको छ ।

सिनेम्याटोग्राफर शम्भु चालिसेले गीतको भावनालाई दृश्यमा उतार्नका लागि नजिकका फ्रेमदेखि विशाल समूहको नृत्यसम्मका दृश्यलाई सन्तुलित रूपमा प्रस्तुत गरेका छन् । सम्पादनमा प्रविण भट्टले कथावाचनको लय बिग्रन नदिई निरन्तरता र प्रवाह कायम राखेका छन् ।

सिर्जनाको पृष्ठभूमिमा यसपटक पनि माझीको सदाबहार टिम नै छ— रचनाकार, संगीतकार र निर्देशक सबै भूमिकामा उनका श्रीमान् सुन्दरमणि अधिकारी नै छन् । अधिकारी–माझी जोडीले विगतमा जस्तै यो गीतमार्फत पनि ग्रामीण भाकालाई शहरी दर्शकको मनसम्म पुगोस् भन्ने अपेक्षा राखेका छन् ।

यसअघि रिलिज भएका ‘पुतलीको भट्टी’ शृंखलाका गीतहरूले देश–विदेशमा नेपाली समुदायबीच चर्चाको लहर ल्याएका थिए । संगीत पारखीहरूका अनुसार, ‘म त नराउरी’ले पनि यही सफलताको यात्रा अघि बढाउने सम्भावना उत्तिकै देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०९:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP