मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा साताभित्रै ठूलो गिरावट, ७ प्रतिशतभन्दा बढी कमी

2.1K
SHARES
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा साताभित्रै ठूलो गिरावट, ७ प्रतिशतभन्दा बढी कमी

काठमाडौं । निरन्तर बढ्दै नयाँ उचाइमा पुगेको सुनको भाउमा एक साताभित्रै ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि सुनको मूल्यमा तीव्र गिरावट आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला महिनासम्म सुनको मूल्य लगातार बढ्दै गएको थियो । अमेरिका–चीन व्यापार तनाव र वैश्विक राजनीतिक अस्थिरताका कारण सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोजिँदै आएको थियो । तर, हाल लगानीकर्ताले नाफा निकाल्न थालेपछि मूल्यमा एकाएक गिरावट देखिएको हो ।

नयाँ उचाइपछि तीव्र गिरावट
गत ३० असोज (१६ अक्टोबर) मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यतिबेला प्रति आउन्स ४,३८१ अमेरिकी डलर कायम भएको थियो । त्यसपछि सुनको मूल्य घट्दै गएर शुक्रबारसम्म ७.१६६ प्रतिशतले घटेर प्रति आउन्स ४,०६४ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक आउन्स बराबर २८.३४ ग्राम हुन्छ ।

नेपाली बजारमा प्रभाव ढिलो
नेपालमा सुनको मूल्य तोलामा कारोबार हुन्छ (१ तोला ११.६६४ ग्राम) । ३१ असोजमा तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च मूल्य कायम भएको थियो । त्यसपछि क्रमशः घट्दै २ लाख ५३ हजार रुपैयाँसम्ममा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव एकदिन ढिलो नेपाली बजारमा देखिन्छ । पछिल्लो केही दिन दिपावली बिदाका कारण कारोबार स्थगित भएकाले संघले नयाँ मूल्य तोकेको छैन । आगामी साता कारोबार खुलेपछि अन्तर्राष्ट्रिय मूल्य समायोजन गरेर नयाँ दर निर्धारण गरिने संघले जनाएको छ ।

सुनको मूल्य घट्ने कारणहरू
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्नुका पछाडि विभिन्न कारण लगानीकर्ताको नाफा बुक गर्ने प्रवृत्ति, अमेरिका र चीनबीचको व्यापार सम्बन्धमा सुधारका संकेत, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने अपेक्षाको असर, डलर र धितोपत्र बजारमा लगानीको आकर्षण पुनः बढ्नु रहेका छन् ।

पहिले सुनको मूल्य बढ्दा धेरै देशका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुनमा लगानी बढाएका थिए । तर अहिले ती देशहरूले आंशिक रूपमा लगानी घटाएका र व्यक्तिगत लगानीकर्ताले पनि नयाँ बजारतर्फ झुकाव देखाएपछि सुनको माग घट्दै मूल्यमा दबाब परेको विश्लेषकहरूको भनाइ छ ।

विश्लेषकहरूका अनुसार सुनको बजार हाल अल्पकालीन सुधारमा पुगेको हो र आगामी हप्तामा पनि उतारचढाव जारी रहने सम्भावना छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार १२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP