मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ट्रान्सफर्मर चोरी प्रकरणमा १२ जना पक्राउ, भारी मात्रामा सामान बरामद

2.5K
SHARES
ट्रान्सफर्मर चोरी प्रकरणमा १२ जना पक्राउ, भारी मात्रामा सामान बरामद

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ट्रान्सफर्मर चोरी प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चोरीमा संलग्न ७ जना र ती सामान किन्ने ५ जना व्यापारी छन् ।

प्रहरीका अनुसार पक्राउ परेका युवाहरू मोरङको ग्रामथान र बेलबारी तथा सुनसरीको दुहबी क्षेत्रका स्थानीय हुन् । चोरी गरिएका सामग्री किन्ने व्यापारीहरू भने विराटनगर, दुहबी र इटहरीका रहेको डीआईजी ईश्वर कार्कीले जानकारी दिए ।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरीले निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो । अनुसन्धानको क्रममा सीसीटीभी फुटेज विश्लेषण, शंकास्पद स्थानहरूको खानतलासी तथा तामा फ्याक्ट्री र भाँडाको पसलहरूमा कडा निगरानी गरिएको थियो ।

चोरीको संलग्नतामा पक्राउ परेकाहरूले सुनसरीबाट १२, मोरङबाट ८ र झापाबाट २ गरी कुल २२ वटा ट्रान्सफर्मर चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले उनीहरूबाट ट्रान्सफर्मरमा प्रयोग हुने ३७० किलोग्राम तामाको तार, चोरीमा प्रयोग गरिएका विभिन्न औजारहरू, पाँच थान मोटरसाइकल, एक थान पिकअप गाडी र १२ थान मोबाइलसमेत बरामद गरेको छ ।

बरामद अन्य सामाग्रीमा डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो, कैची, साङ्ली, खन्ती, झम्पल, ह्याक्सो बिलेट, इलेक्टिक ग्रेन्डरसहितका उपकरणहरू रहेका छन् । साथै चोरीमा प्रयोग गरिएको को १ च ७७२९ नम्बरको पिकअप गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार ०५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP